विश्व अर्थतन्त्रमा आउने उतारचढाव तथा मूल्य आपूर्ति शृंखलामा पर्ने कुनै पनि प्रभावले मुलुकको अर्थतन्त्र समस्यामा पर्ने त्रास बारम्बार दोहोरिइरहने भएकाले नेपालले आत्मनिर्भर अर्थतन्त्रमा जोड दिनुपर्छ भन्ने बारेमा बहस र छलफल निकै हुने गरेको छ । आर्थिक अभियान दैनिकले वार्षिकोत्सव विशेषांक पनि यही विषयवस्तुमा केन्द्रित रहेर प्रकाशन गर्यो, जसमा आत्मनिर्भर अर्थतन्त्रका बारेमा विविध विचार प्रस्तुत भएका छन् । के नेपालमा आत्मनिर्भर अर्थतन्त्र सम्भव छ त ?
गरिखान नसिकाउने शिक्षा र वैदेशिक रोजगारीको आकर्षणमा कमी ल्याउन सरकारले कुनै पहल गरेको छैन, उल्टो मलजल गरेको छ । यो उल्टो यात्राले न आत्मनिर्भरता प्राप्त हुन्छ न अन्तरनिर्भरता नै बढाउन सकिन्छ ।
कुनै पनि मुलुक सबै वस्तुमा पूर्ण आत्मनिर्भर हुँदैन । त्यसैले आत्मनिर्भरताको अर्थ अन्तरनिर्भरता हो भन्ने मानिन्छ । अर्थात् अन्य अर्थतन्त्रसँग जोडिएर अन्तरनिर्भरता बढाउन सकियो भने त्यो आत्मनिर्भरता जत्तिकै हुन्छ, अन्यथा अर्थतन्त्र पूरै परनिर्भर हुन सक्छ । अहिले नेपालको अर्थतन्त्र धेरै मात्रामा परनिर्भर देखिन थालेको छ किनभने विप्रेषणमा निर्भर अर्थतन्त्र छ । हुन सक्ने उत्पादनलाई पनि बेवास्ता गरिएको छ । विप्रेषणमा भर पर्दा वैदेशिक रोजगारीका गन्तव्यमा आउने सानो नीतिगत परिवर्तनले पनि विप्रेषणमा धक्का लाग्छ र त्यो धक्का आन्तरिक अर्थतन्त्रले पचाउन सक्ने सामथ्र्य राख्दैन । त्यसैले मुलुकले अर्थतन्त्रलाई विविधीकरण गर्न जरुरी छ र यसका लागि आत्मनिर्भर अर्थतन्त्र बनाउनेतिर लाग्नुपर्ने देखिन्छ ।
आत्मनिर्भरताका लागि मुलुकले केही न केही वस्तु उत्पादन गर्न सक्नुपर्ने हुन्छ । त्यस्तो वस्तु एउटै मात्र भए पनि अर्थतन्त्रलाई बलियो टेवा दिन सक्छ । नेपालले अरू थोक गर्न नसके पनि जलविद्युत्मा सम्भाव्यताको चतुर्थांशमात्रै उत्पादन गर्न सके पनि अर्थतन्त्रले छलाङ मार्न सक्छ । तर, यही सम्भाव्यतामा पनि खासै काम हुन सकेको छैन । यद्यपि पछिल्लो समयमा जलविद्युत् क्षेत्रमा केही काम भएका छन् र केही हुँदै छन् । तर, नेपालले आर्थिक प्रगति गर्न अहिलेको काम पर्याप्त छैन । एकातिर आन्तरिक खपतका लागि ठूलाठूला आयोजनाको निर्माण गर्नु त छँदै छ, अर्कोतर्फ नेपालमा विद्युत् उत्पादन गरी भारत, बंगलादेशलगायत मुलुकमा बेच्नुपर्ने हुन्छ । नेपालले विद्युत् उत्पादन गर्नसक्ने हो भने भारत, बंगलादेश मात्र नभई श्रीलंकासम्म बजार विस्तार गर्नसक्छ । तर, यसका लागि उत्पादन वृद्धिसँगै बजार विस्तारमा पनि त्यतिकै जोड दिनुपर्ने हुन्छ । जलविद्युत्मार्फत दिगो आर्थिक विकासको आधार निर्माण गर्न सकिन्छ ।
उत्पादनमूलक उद्योगले एउटा अवस्था पार गरेपछि सेवामूलक क्षेत्रको विकास हुनुपर्नेमा नेपालको यात्रा उल्टो छ । सेवाक्षेत्र फस्टाइरहँदा उत्पादन क्षेत्र भने उठ्नै सकेको छैन । खाद्यान्नमा आत्मनिर्भर बन्न सरकारले ल्याएका कार्यक्रम असफल साबित भएका छन् । तर, त्यसको कारण खोजेर नीतिमा परिवर्तन ल्याउन सरकार चुकेको देखिन्छ ।
त्यस्तै उद्योग कलकारखाना खोलेर औद्योगिक उत्पादन बढाउन आवश्यक छ । नेपालको पूँजी र प्रविधिले धान्न सक्ने तथा आफ्नो उत्पादनले बजार पाउन सक्ने अवस्थामा पनि उद्योगहरू किन खुल्न सकेनन् भन्नेमा गम्भीर समीक्षा र परिवर्तन जरुरी छ । यसो नगर्ने हो भने सियोदेखि धागोसम्मा परनिर्भरताको अन्त्य कहिले हट्ने छैन ।
उत्पादन बढाउन सकिँदैन भने त्यस्ता वस्तु खरीदका लागि स्रोत कहाँबाट ल्याउने भन्नेमा सरकारले गम्भीरतापूर्वक काम गर्नैपर्छ । तर, गरिखान नसिकाउने शिक्षा र वैदेशिक रोजगारीको आकर्षणमा कमी ल्याउन सरकारले कुनै पहल गरेको छैन, उल्टो मलजल गरेको छ । यो उल्टो यात्राले न आत्मनिर्भरता प्राप्त हुन्छ न अन्तरनिर्भरता नै बढाउन सकिन्छ ।
नेपाल आफ्नै खुट्टामा उभिन सक्ने खालको अर्थतन्त्र निर्माण गर्ने स्रोत र सामथ्र्य नभएको मुलुक होइन । तर, व्यवस्थापनमा देखिएको कमजोरीले स्रोतको दोहन र परिचालन गर्न नसक्दा परनिर्भरता बढ्दो मात्रामा छ ।
अतः सरकार, नीतिनिर्माता, र नेपालको निजीक्षेत्रले समेत दिगो विकास र आर्थिक स्थायित्वका लागि आत्मनिर्भर हुने खालका गतिविधिमा केन्द्रित हुन ढिला भइसकेको छ । सरकार जति खुला हुन्छ र निजीक्षेत्र जति उत्साहित हुन्छ त्यति नै उत्पादनका लागि लगानी बढ्छ । जति उत्पादन बढ्छ त्यति नै आत्मनिर्भरता बढ्दै जान्छ भन्नेमा सबै एकताबद्ध भएर लाग्नुको विकल्प देखिँदैन । अन्यथा आर्थिक परनिर्भरताले मुलुकको सार्वभौमिकतासमेत कमजोर बन्दै जानेछ ।