अमेरिकामा विदेशी विद्यार्थीहरूमध्ये चीनबाट आउनेहरूको संख्या सबैभन्दा बढी भएको देखिएको छ । अन्तरराष्ट्रियस्तरको अमेरिकी शिक्षा र तालीमको आदानप्रदानलाई प्रोत्साहन गर्ने संस्था इन्ष्टिच्युट अफ इण्टरनेशनल एजुकेशन (आईओआई)ले एक अध्ययनपछि बताएअनुसार विश्वविद्यालय र कलेजहरूमा पढ्न आएका विदेशी विद्यार्थीमध्ये एकचौथाइ चिनियाँहरू रहेका छन् । चीनमा द्रुतगतिले मध्यमवर्गको उदय हुनुले अमेरिकामा संख्या बढाइरहेको आईओआईका वरिष्ठ परामर्शदाता पेग्गी ब्लुमेन्थले बताए । ‘आर्थिक विकाससँगै आम्दानी बढेपछि चिनियाँ मध्यमवर्गीय परिवारका आमाबाबुहरू आफ्ना सन्तानलाई विश्वको जुनसुकै भागमा उत्तम शिक्षा हासिल गर्न पठाउन सक्षम भएका छन्,’ उनले भने ।
ब्लुमेन्थका अनुसार अहिले अमेरिकी विश्वविद्यालय र कलेजहरूमा चिनियाँ विद्यार्थीहरू व्यापार/वाणिज्य व्यवस्थापन र इञ्जिनीयरिङलगायतका प्राविधिक विषयहरूमा बढी रहेको देखिएको छ । चीनपछि अमेरिकामा भारतीय र दक्षिण कोरियाली विद्यार्थीहरू क्रमश: दोस्रो र तेस्रो स्थानमा रहेको ब्लुमेन्थले उल्लेख गरे । तर, संख्या उल्लेख्य भए पनि ती दुई देशबाट पढ्न आउनेहरूको संख्या भने केही समययता घटेको उनको भनाइ थियो ।
वर्ष ८, अंक ६९, मंगलवार ११ मङ्सिर, २०६९