काठमाडौं । नेपाल र भारतबीच अन्तरदेशीय भुक्तानी (क्रश बोर्डर पेमेन्ट) सेवा सञ्चालन गर्न नेपाली बैंक, वित्तीय संस्था र भुक्तानी सेवाप्रदायक कम्पनीलाई बाटो खुला भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार निर्देशन जारी गर्दै नेपालबाट भारतमा र भारतबाट नेपालमा अनलाइनको प्रयोग गरी विप्रेषण पठाउन सकिने र पर्यटकले क्यूआर कोडमार्फत नेपालमा वस्तु तथा सेवाको भुक्तानी गर्न सक्ने व्यवस्था गरेको हो ।
निर्देशनअनुसार नेपालमा कार्यरत भारतीय नागरिकले ई–बैंकिङ, अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ र क्यूआर कोडबाट भारतीय बैंक, वित्तीय संस्थामा रहेको खातामा रकम जम्मा गर्न सक्नेछन् । यस्तो कारोबारका लागि प्रतिदिन १५ हजार र प्रतिमहीना १ लाख रुपैयाँको सीमा तोकिएको छ ।
अब नेपालमा कार्यरत भारतीयले ई–बैंकिङ, अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ र क्यूआर कोडबाट भारतीय बैंक, वित्तीय संस्थामा रहेको खातामा र भारतबाट क्यूआर कोडमार्फत नेपाली बैंक, वित्तीय संस्थामा रहेको खातामा जम्मा हुने गरी रकम पठाउन सकिन्छ ।
यसैगरी भारतबाट पनि क्यूआर कोडमार्फत नेपाली बैंक वित्तीय संस्थामा रहेको खातामा जम्मा हुने गरी विप्रेषण पठाउन सकिने व्यवस्था गरिएको छ । दुवै कारोबारका लागि नेशनल पेमेन्ट स्वीचको प्रयोग अनिवार्य गरिएको छ । यसैगरी केन्द्रीय बैंकको निर्देशनमा विदेशमा जारी भएको क्यूआर कोडमार्फत नेपालमा पनि कारोबार गर्न सकिने उल्लेख छ ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट छिट्टै भारतमा पनि नेपालीले भुक्तानी गर्न सक्ने गरी काम भइरहेका बताउँछन् । अहिले भारतीयले नेपालमा भुक्तानी गर्न सक्ने व्यवस्था गरेका छौं, छिट्टै नेपालीले भारतमा पनि क्यूआरमार्फत भुक्तानी गर्न पाउने व्यवस्था हुनेछ ।
गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणका बेला नेपाल र भारतबीच क्रश बोर्डर भुक्तानी सेवा शुरू गर्ने सम्झौता भएको थियो । उक्त भ्रमणमा राष्ट्र बैंकको समेत लगानी रहेको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तरराष्ट्रिय शाखा एनआईपीएलबीच सम्झौता भएको थियो ।
त्यसपछि गत भदौमा एनआईपीएलले नेपालको निजी भुक्तानी सेवाप्रदायक कम्पनी फोनपेसँग पनि क्रश बोर्डर भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता गरेको थियो । ग्लोबल फिनटेक फेस्ट २०२३ मा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको समेत उपस्थितिमा निजी कम्पनीसँग समेत सम्झौता भएको थियो ।
गत फागुनमा सेवा सञ्चालनका लागि भारतमा पेमेन्ट स्वीचको काम गरिरहेको युनाइटेड पेमेन्ट इन्टरफेस (यूपीआई) र नेपालमा पेमेन्ट स्वीचको काम गरिरहेको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई)बीच द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने समझदारी भएको थियो ।
क्रश बोर्डर भुक्तानी सेवाले दुवै देशका नागरिकले अर्को देशमा घुमघाम तथा व्यापारको सिलसिलामा जाँदा नगद बोक्नुपर्ने अवस्था अन्त्य हुनेछ । यसबाट दुई देशबीचको व्यापार, पर्यटनलगायत गतिविधिसमेत वृद्धि हुने अपेक्षा गरिएको छ ।
हाल राष्ट्र बैंकले भुक्तानी सेवाप्रदायक कम्पनी एनसीएचएल र फोनपेलाई सेवा सञ्चालनका लागि स्वीकृति दिएको छ ।