काठमाडौं। ग्लोबल आइएमई बैंकले आफ्नो बैंकको समग्र वित्तीय स्थितिको मूल्यांकन अन्तरराष्ट्रिय क्रेडिट रेटिङ एजेन्सीमार्फत गर्ने भएको छ । नेपालमा धेरै कर्जा प्रवाह गर्ने १० वाणिज्य बैंकको कर्जाको लेखा परीक्षण गराउन राष्ट्र बैंकले अन्तरराष्ट्रिय मुद्रा कोषसँग भएको सम्झौताअनुसार अन्तरराष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी छनोट प्रक्रिया अघि बढाएको छ । यो अवस्थामा ग्लोबल आइएमईले आफै अघि सरेर यो काम गराउन खोजेको हो । ख्यातिप्राप्त अन्तरराष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी मुडिज इन्भेष्टर सर्भिसमार्फत बैंकको शाख मूल्यांकन गराउन लागिएको बैंकले घोषणा गरेको छ ।
१८ वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गर्न लागेको अवसरमा बैंकले विज्ञप्ति जारी गर्दै मुलुकले अवलम्बन गरेको वित्तीय नीति बमोजिम समग्र कर्पोरट क्षेत्रलाई अन्तरराष्ट्रिय मापदण्ड अनुरूप विकास गर्दै लैजाने हेतुले शाख मूल्यांकन गर्न खोजिएको स्पष्ट पारेको छ । ‘बैंकका विभिन्न वित्तीय सूचक एवम् सुशासनको अवस्थाको मूल्यांकन गरेर गरिने शाख मूल्यांकन (क्रेडिट रेटिङ)बाट बैंकको अन्तरराष्ट्रिय शाख थप विस्तार हुने विश्वास लिइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
केही वर्षयता बैंक तथा वित्तीय संस्थाको वित्तीय अवस्था बिग्रँदै गएको प्रकाशित वित्तीय विवरणहरूबाट स्पष्ट हुन्छ । यद्यपि कात्तिक मसान्तसम्ममा वाणिज्य बैंकहरूको निक्रिष्य कर्जाको अनुपात ४ दशमलव २८ प्रतिशत रहेको छ भने समग्र बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जाको अनुपात ४ दशमलव ४२ प्रतिशत रहेको छ । तर मुद्रा कोषले भने हाल प्रकाशित गरिएको निष्क्रिय कर्जाको अनुपातलाई विश्वास गरेको छैन । त्यसैले उसले ठूला बैंकहरूको कर्जाको गुणस्तर अन्तरराष्ट्रिय क्रेडिट रेटिङ एजेन्सीमार्फत गराउन खोजेको हो ।
जोखिम व्यवस्थापन तथा अनुपालनालाई अत्यन्त महत्त्वका साथ अवलम्बन गर्दै आएको ग्लोबल आइएमई बैंकले बताएको छ । यसका लागि अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी) को एड्भाइजरी सेवा लिएर काम अघि बढाइएको बैंकले जनाएको छ । ‘कर्जाको गुणस्तरमा सुधार गर्ने गराउने, नियमित रूपमा ऋणीको व्यवसायको अनुगमन तथा निरीक्षण कार्यको कार्यान्वयन गर्ने र पूर्व चेतावनीका लक्षण देखिएका कर्जाको समयमै पहिचान तथा व्यवस्थापन गर्न केन्द्रीय स्तरमा कर्जा अनुगमान इकाई गठन गरी कार्यारम्भ गरिएको छ,’ बैंकले भनेको छ । बैंकले हाल अष्टे्रलिया, भारत र संयुक्त अधिराज्यमा प्रतिनिधि कार्यालय सञ्चालन गरेको छ । दक्षिण कोरियामा पहिलो अन्तरराष्ट्रिय शाखा खोल्ने प्रयास जारी रहेको बैंकले जनाएको छ ।
बैंकका अनुसार व्यावसायिक अवसरको विश्लेषण गरी नेपाल राष्ट्र बैंक तथा आवश्यक अन्य निकायबाट स्वीकृति प्राप्त भएको अवस्थामा बेलायत, अमेरिका जस्ता विभिन्न सम्भाव्य राष्ट्रहरूमा शाखा कार्यालय खोलेर कारोबार गर्ने योजना रहेको छ ।
ग्लोबल आइएमई बैंकका अनुसार प्रविधिमा आधारित बैंकिङ सेवा बैंकको प्राथमिकतामा छ । यस अन्तर्गत स्वचालित बिजनेश प्रोसेस म्यानेजमेन्ट सफ्टवेयर जडान गरी काम भइरहेको, कर्मचारीको प्रत्यक्ष संलग्नताविना नै नगद कारोबार हुने क्यास डिपोजिट मेशिन जडान गरी काम अघि बढेको छ । ‘जवाफदेही र उत्तरदायी बैंकिङ समाधानका लागि बैंकले आर्टिफिसियल इन्टेलिजेन्स प्रयोगमा ल्याएको छ । बैंकको सञ्चालन दक्षता अभिवृिद्धका साथै दोहोरिने कार्य न्यूनीकरणका लागि रोबोटिक प्रक्रिया प्रयोग गरिएको छ ।’