काठमाडौं। ग्लोबल आइएमई बैंक स्थापनाको १८ वर्ष पूरा गर्दै छ । बैंक पुस १८ देखि १९औं वर्षमा प्रवेश गर्नेछ । बैंकको आर्थिक वर्ष (आव) २०८०/८१ को कारोबार समीक्षा अनुसार अघिल्लो वर्षको तुलनामा बैंकको पूँजी, निक्षेप, लगानीमा सन्तोषजनक वृद्धि भएको बताइएको छ । समीक्षा अवधिमा बैंकको चुक्तापूँजी, कुल निक्षेप, कुल कर्जा, लगानी र जगेडा तथा कोषमा वृद्धि भएको छ । बैंकले दिगो व्यावसायिक वृद्धिका लागि आफ्नो वार्षिक व्यावसायिक कार्ययोजना अनुरूपका रणनीति कार्यान्वयन गर्दै जाने बताएको छ । हरित तथा दिगो विकासका लागि कायम गरिएका राष्ट्रिय तथा अन्तरराष्ट्रिय लक्ष्यलाई आत्मसात् गर्दै दिगो, न्यून कार्बन, वृत्ताकार अर्थतन्त्रको दिशामा सहयोगसिद्ध हुनेगरी व्यवसाय सञ्चालन र कर्जा प्रवाह गर्ने गतिविधि थप प्रवर्द्धन गरिने बैंकले जानकारी दिएको छ ।
बैंकले थप ‘भ्यालु एडेड सर्भिसेस’लाई बजारमा पुर्याउने कार्ययोजना बनाएको बताइएको छ । बैंकले विगत वर्षमा अन्तरराष्ट्रिय वित्त निकाय तथा वित्तीय संस्थाबाट बाह्य कर्जा लिई लगानीको स्रोतको व्यवस्थापन गर्दै आएको बताइएको छ । चालू आवमा समेत ती निकायबाट आवश्यकता र औचित्यताको आधारमा स्रोतको व्यवस्थापन तथा परिचालन गर्ने योजना रहेको बताइएको छ ।
बैंकले सूचना प्रविधिको प्रयोग बढाउँदै आधुनिक प्रविधिमैत्री गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै अगाडी बढ्ने नीति अवलम्बन गरेको छ । बैंकले जोखिम व्यवस्थापन तथा अनुपालनालाई महत्त्वका साथ अवलम्बन गर्दै आएको र सञ्चालक स्तरीय जोखिम व्यवस्थापन समिति एवं व्यवस्थापन तहको जोखिम व्यवस्थापन समिति गठन गरी बंैकका विभिन्न किसिमका जोखिमको पहिचान तथा न्यूनीकरणका विधि अवलम्बन गर्दै आएको बताइएको छ । यस्तै जोखिम व्यवस्थापन कार्यलाई अझ बढी प्रभावकारी बनाउने र अन्तरराष्ट्रिय असल अभ्यासलाई अनुसरण गरी कार्यान्वयन गर्ने/गराउने कार्यलाई जोड दिने बैंकको प्रतिबद्धता छ ।