चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो त्रैमासमा नेपालको सार्वजनिक ऋण ८८ अर्ब रुपैयाँ थपिएको छ र कुल सार्वजनिक ऋण २५ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४ दशमलव २३ प्रतिशत हो । सार्वजनिक ऋणमा पनि आन्तरिक ऋणको अंश बढेको छ र सरकारले ऋण तिर्नकै लागि ऋण लिनुपर्ने अवस्था एकातिर छ भने अर्कातिर ऋणको उपयोग पूँजी निर्माण र उत्पादनका क्षेत्रमा हुन नसक्दा त्यसले अर्थतन्त्रको विस्तारमा जति सहयोग गर्नुपर्थ्यो त्यो गर्न सकेको छैन । विश्व बैंक, अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) लगायत दातृ निकायहरूले नेपालजस्तो देशलाई अर्थतन्त्रको आकारको तुलनामा ६० प्रतिशतसम्मको ऋण स्वाभाविक ठान्छन् । तर, ऋण कति छ भन्दा पनि त्यसको उपयोग कहाँ भएको छ भन्ने चाहिँ बढी महत्त्वपूर्ण हुन्छ । अहिले नेपालको सार्वजनिक ऋणको आकार आत्तिइहाल्नुपर्ने अवस्थाको भने छैन किनभने आव २०४७/०४८ मा कुल ऋणभार अर्थतन्त्रको आकारको तुलनामा ६६ दशमलव ८ प्रतिशतसम्म पुगेको थियो । त्यसो हुँदा अहिलेको ४४ दशमलव २३ प्रतिशत कमै हो ।
ठूला आयोजना बनाउने बहानामा लिइने ऋण वर्षेनि थपिँदै छ । तर, लिएको ऋण उद्देश्यअनुसार खर्च भएको छैन । लगानी गरेको क्षेत्रलाई प्राथमिकतामा राखेर काम नगर्दा नै यो समस्या चुलिएको हो । समयमै आयोजना नसकिँदा एकातिर त्यसको लागत थपिएको छ भने अर्को त्यसबाट पाइने उपलब्धि पछि धकेलिएको छ । त्यस्तै समयमा काम सम्पन्न नहुँदा सरकारले पूर्वाधार निर्माणका लागि लिएको ऋणको शोधभर्ना पनि लिन सकेको छैन । यद्यपि अहिले विदेशी विनिमय सञ्चिति पर्याप्त भएकाले सरकारले यसलाई गम्भीरताका साथ लिएको देखिँदैन । त्यतिमात्र होइन, सरकारले सार्वजनिक ऋण लिँदा अनुत्पादक क्षेत्रका लागि समेत लिएको पाइन्छ । प्रधानमन्त्री रोजगार कार्यक्रम यसको उदाहरण हो जसले अर्थतन्त्रमा खासै योगदान दिएको छैन । त्यस्तै संघीयता सबलीकरणका नाममा लिएको ऋणको पनि सदुपयोग भएको देखिँदैन । यस्ता अनुत्पादक क्षेत्रमा ऋण बढ्दै जानु नै चिन्ताको विषय हो ।
सरकारले उठाएको करको रकम दैनिक प्रशासन र सार्वजनिक सेवा प्रवाहका लागि समेत अपुग हुने गरेको छ । त्यसमाथि पनि आयातमा निर्भर राजस्व बढी छ र अहिले आयात घट्दा राजस्व पनि लक्ष्यअनुसार बढ्न सकेको छैन । अहिले यसमा केही सुधार आउन थालेको छ तर पनि सरकारले घाटा बजेट बनाएका कारण ऋण लिनैपर्ने बाध्यता छ जुन अन्यथा होइन । विकास निर्माणका काम ऋणबाट नै हुने हो । नेपालले हालसम्म लिएको बाह्य ऋण सहुलियत ब्याजदरको भएकाले ठूलो समस्या परेको छैन र समयमै किस्ता बुझाएकाले नेपालको छवि यसमा राम्रै छ । त्यसैले थप ऋण लिन परे पनि विकास साझेदारहरू ऋण दिन तयार देखिन्छन् । तर, नेपाल अतिकम विकसित मुलुकवाट स्तरोन्नति भएपछि भने सस्तोमा ऋण पाउन समस्या हुने देखिछ । अर्कोतर्फ, ऋणको उपयोग उत्पादनमुखी नदेखिएको चिन्ता बढेको हो । सार्वजनिक ऋणसम्बन्धी चिन्तको अर्को पक्ष हो : सार्वजनिक ऋणमा आन्तरिक ऋणको अंश बढ्दै जानु । चालू आवमा सरकारले ३ खर्ब ३० अर्ब आन्तरिक ऋण र २ खर्ब १७ अर्ब ६७ करोड रुपैयाँ वैदेशिक ऋण उठाउने लक्ष्य लिएको छ । आन्तरिक र बाह्य ऋण प्राप्ति क्रमश: ३४ दशमलव ८५ र ९ दशमलव ८२ प्रतिशत छ । यसको अर्थ हो, आन्तरिक ऋणचाहिँ सरकारले लक्ष्यअनुसार उठाउन सक्छ तर बाह्य ऋणचाहिँ सक्दैन । आन्तरिक ऋणको ब्याजदर उच्च छ भने ऋण तिर्नुपर्ने समय छोटो छ । त्यसैले आन्तरिक ऋण सरकारका लागि बोझिलो बन्दै गएको छ । त्यसैले अब सरकारले सार्वजनिक ऋणको सदुपयोगबारे सचेत हुनुपर्ने बेला आइसकेको छ ।