शेयरबजारमा गरिने कारोबार स्वाभाविक र अस्वाभाविक मूल्यमा उतारचढाव हुने गरेको छ । शेयर मूल्यमा स्वाभाविक उतारचढाव हुन सक्ने आधारमा कम्पनीले वितरण गर्ने बोनस शेयर, लाभांश, हकप्रद, व्यवसायसँग सम्बद्ध ठूलो योजना, व्यवस्थापन परिवर्तन, नाफा नोक्सानको हिसाबका ब्यालेन्स सीट, वित्तीय परिणामहरू, संस्थालाई हुन सक्ने हानि वा फाइदाका अन्य पक्षहरूसँग गरिने व्यावसायिक सम्झौताहरू, मर्जर तथा एक्वीजिशन आदि हुन् । यिनको जानकारीबाट शेयरबजारमा प्रभाव पर्न सक्छ र उतारचढाव हुन सक्छ । यस्ता सूचनाका अधारमा शेयरबजारमा मूल्य स्वाभाविक वृद्धि र गिरावट हुन सक्छ जुन धितोपत्र बजारको प्रवृत्ति नै हो । कुनै व्यक्तिले कुनै सूचीकृत कम्पनीको सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीहरूका आधारमा धितोपत्र कारोबार गरेमा वा अरूलाई धितोपत्र कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरू कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिन्छ । कानुनअनुसार भित्री कारोबार दण्डनीय रहेको छ ।
हालका दिनमा भित्री कारोबारभन्दा बाहेक केही समूह मिली अफवाह फैलाई धितोपत्रको मूल्य बढाउने, घटाउने गरेको गुनासो आएको पाइन्छ । धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने, धितोपत्रको बजार मूल्य बढाउन, घटाउन झुट्टा अफवाह फैलाउने काम भइरहेको छ । शेयर अस्वाभाविक मूल्य घटाउने बढाउने कार्यलाई धितोपत्रसम्बन्धी ऐन, २०६३ ले दण्डसजायको व्यवस्था गरेको छ । कानूनले नेपाल धितोपत्र बोर्डलाई मूल्य बढाउने, घटाउने, झूटा अफवाह फैलाई शेयर अस्वाभाविक मूल्य घटाउने बढाउने उपर कार्वाही तथा सजाय गर्ने अधिकार दिए तापनि व्यवहारमा कारबाही गर्ने गरेको पाइँदैन । बोेर्डले अफवाह फैलाउनेलाई कारबाही गर्न नसकेकाले शेयरबजारमा केही टाठाबाठा समूहले सस्तोमा शेयर खरीद गर्ने र पछि सामाजिक सञ्जालमा अफवाह फैलाएर मूल्य बढाई निर्दोष सीधासाधा लगानीकर्तालाई फसाउने कार्य दिन प्रतिदिन बढ्दै गएको छ ।
विगतका दिनहरूमा पनि शेयरबजारमा केही व्यक्ति वा समूह मिली आफ्नो र आफ्नो समूहलाई फाइदा लिने उद्देश्यले नोक्सानीमा रहेका फाइनान्सलगायत कम्पनीहरूका लाखौं कित्ता शेयर उठाई गलत वा भ्रामक सूचना प्रसारप्रचार गरी शेयर मूल्य बढाई साधारण लगानीकर्ता फसाएको पाइन्छ । नेशनल फाइनान्स, गोर्खाली रबर उद्योग, बुटवल धागो, नेकोन एयर, शेयर मार्केट एन्ड फाइनान्स आदिमा लगानीकर्ता फसेका छन् । झूटा हल्ला फैलाई मूल्य बढाई सीधासाधा लगानीकर्ता डुबाए पनि बोर्डले यस्तो कार्य गर्नेलाई कारबाही गर्न सकेन । हालका दिनमा पनि केही व्यक्ति मिली नोक्सानीमा गएका फाइनान्स कम्पनीका शेयर कम मूल्यमा खरीद गरी सामाजिक सञ्जालमा अफवाह फैलाई शेयर मूल्य बढाउने काम भइरहेको छ । बोर्डले नेपालमा चलखेल, अफवाह फैलाई शेयर मूल्य घटाउने बढाउने उपर कारबाही गर्न नसके तापनि भारतीय शेयरबजारमा राकेश झुनझुनवाला र उनकी श्रीमती रेखा झुनझुनवालासहित १० जनालाई त्यहाँको सेक्युरिटी एन्ड एक्सचेन्ज बोर्ड (सेवी) ले धितोपत्र कारोबारसम्बन्धी अपराध गरेका आधारमा ३७ करोड भारू जरीवाना तिराएको थियो । त्यस्तै अर्को हर्षद मेहताले शेयरबजारमा मेनुपुलेट गरी बैंकमा भारत सरकारले जारी गरेको सेक्यूरिटिज विभिन्न बैंकमा धेरओटा फेक रसिद धितो अर्बौं घोटाला गरेको काण्ड भारतमा प्रख्यात छ । एशोसिएटेड सिमेन्ट कम्पनी लिमिटेडकोे शेयर रू. २०० मा खरीद गरी भिन्न अफवाह फैलाई शेयर मूल्य ९ हजार पुर्याए जसले गर्दा सीधासाधा लगानीकर्ता डुबे । हर्षद मेहताले हल्ला फैलाई शेयर मूल्य बढाउने कार्य गरी सीधासाधा लगानीकर्तालगायत बैंकसमेत डुबाएको आधारमा सेक्युरिटी एन्ड एक्सचेन्ज बोर्ड (सेबी)ले निजलाई पक्राउ गरी मुद्दा चलाएको घटना भारतमा निकै प्रख्यात छ ।
नेपालमा पनि शेयरबजारमा यस्तै अफवाह फैलाई शेयर मूल्य घटाउने बढाउने कार्यमा धितोपत्रसम्बन्धी ऐन, २०६३ ले प्रतिबन्ध तथा सजायको व्यवस्था गरेको छ । उक्त ऐनले गरेको प्रतिबन्ध तथा सजायसम्बन्धी व्यवस्था यस प्रकार रहेको छ ।
क) भित्री कारोबार गर्न नहुने : ऐनले भित्री कारोबार गर्न प्रतिबन्ध लगाएको छ । कुनै कम्पनी वा संस्थाको भित्री जानकारीका आधारमा धितोपत्र कारोबार गरेमा कारोबारको बिगोबमोजिम जरीवाना वा १ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
ख) कृत्रिम वा झूटो कारोबार गर्न नहुने : शेयरबजारमा कसैले कृत्रिम वा झूटो कारोबार गरी शेयर कारेबार गर्न नहुने व्यवस्था दफा ९४ छ ।
ग) मूल्यमा उतार चढाव गर्न नहुने : शेयर मूल्यमा उतार चढाव गर्न नहुने व्यवस्था (दफा ९५ ) ले गरेको छ । साथै कसैले हुँदै नभएको वा कृत्रिम वा झूटो कारोबार गरी गराई धितोपत्रको मूल्य स्थिर गराएमा, बढाएमा, घटाएमा वा बराबर परिवर्तन गराएमा मूल्यको उतारचढाव गराएको मानी दण्डसजायको व्यवस्था गरेको छ ।
घ) धितोपत्र बजारलाई प्रभावित पार्ने कार्य गर्न नहुने : धितोपत्र कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैले वा अरूसँग मिली कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्य बढाउने, मूल्य घटाउने, स्थिर बनाउने कार्य गर्न नहुने व्यवस्था दफा ९६ मा गरिएको छ ।
घ) झूटा वा भ्रामक विवरण, प्रतिज्ञा वा पूर्वानुमान बनाउन वा प्रकाशित गर्न नहुने : झुटो, भ्रामक वा गलत हो भनी जानीजानी कुनै विवरण वा पूर्वानुमानसम्बन्धी विवरण बनाउने वा प्रकाशित गर्ने काम गर्ने नहुने व्यवस्था (दफा ९७) मा गरिएको छ ।
ङ) जालसाजीयुक्त कारोबार गर्न नहुने : दफा ९८ मा जालसाजीयुक्त कारोबार गर्न नहुने व्यवस्था गरेको छ ।
च) झुक्याउन कुनै प्रविधि, योजना वा काम गर्न नहुने : शेयरबजारमा धितोपत्र खरीद विक्रीमा कसैलाई झुक्याउन कुनै प्रविधि, योजना वा काम गरेमा वा कसैलाई झुक्यानमा पारी कुनै काम गराएमा वा काममा लाग्न नहुने व्यवस्था पनि ऐनमा गरिएको छ ।
(छ) धितोपत्र झुटो वा भ्रामक कारोबार गर्न नहुने : दफा ९९ मा कुनै विवरण झुटो वा भ्रामक हो भन्ने थाहा हुँदाहुँदै वा विवरणमा कुनै कुरा छुटेको, लुकाइएको वा नपरेको कारणले त्यस्तो विवरण गलत वा भ्रामक भएको छ भन्ने जानीजानी त्यस्तो विवरणको आधारमा कसैलाई धितोपत्र खरीद वा विक्री गर्न उत्साहित गर्न वा धितोपत्रको मूल्य घटाउन, बढाउन वा स्थिर राख्ने कार्य गर्न नहुने व्यवस्था रहेको छ ।
ज) धितोपत्रसँग सम्बद्ध लिखत, विवरण वा अभिलेख नष्ट गर्ने, झूटो बनाउन, लुकाउने कार्य गर्न नहुने व्यवस्था पनि ऐनमा गरेको छ ।
उल्लिखित ऐनले प्रतिबन्ध लगाएको कार्य गरेमा ऐनले कसुरको मात्राअनुसार ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरीवाना वा १ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ । त्यस्तो कामकारबाहीबाट कसैलाई हानिनोक्सानी पर्न गएको रहेछ भने त्यस्तो हानिनोक्सानी भराई दिनु पर्ने व्यवस्थासमेत छ ।
साथै उपर्युक्त कसुरको मात्रा अनुसार प्रतिबन्ध लगाएको कार्य गर्दा १ लाख रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म जरीवाना वा २ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । त्यस्तो कारोबारबाट कसैलाई हानिनोक्सानी भएको रहेछ भने त्यस्तो हानिनोक्सानी समेत भराई दिनुपर्ने व्यवस्था छ । धितोपत्रसम्बन्धी अपराध गर्नेलाई उक्त ऐनको दफा १०१ (१), (२),(३), (४), (५), (६), (७) ले सजाय हुन सक्ने व्यवस्था गरेको छ ।
हालै धितोपत्रसँग सम्बन्धी अपराध नियन्त्रण गर्न प्रभावकारी गर्न धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०३ लाई संशोधन गरेर उल्लिखित विषयमा अनुसन्धान तथा कारबाही गर्ने अधिकार प्रहरीलाई दिइएको छ । सोही अनुसन्धानका आधारमा धितोपत्रसम्बन्धी अपराध गर्नेमाथि धितोपत्र बोर्डले दण्डसजाय गर्न सक्ने व्यवस्था भएकाले यसबाट सकरात्मक नतिजा निस्कन सकेमा भोलिका दिनमा अफवाह फैलाई धितोपत्र बढाउने घटाउने कार्यमा नियन्त्रणमा आई निर्दोष लगानीकर्ताको लगानी डुब्नबाट जोगाउन सक्ने देखिएको छ ।
लेखक वरिष्ठ अधिवक्ता हुन् ।