काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको विद्युत् विक्री आम्दानी गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९१ प्रतिशत बढेको छ । गत आवमा कम्पनीले विद्युत् विक्रीबापत रू. २७ करोड ८८ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ५३ करोड ३९ लाख पुगेको हो ।
यसो त कम्पनीको नाफा भने गत आवको तुलनामा चालू आवमा ७८ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. ५ करोड १४ लाख नाफा कमाएकोमा चालू आवमा भने रू. १ करोड ८ लाखमा सीमित भएको हो । चालू आवमा कम्पनीको वित्तीय खर्च बढेकाले नाफा घटेको हो । गत आवमा कम्पनीको वित्तीय खर्च रू. ८ करोड ९१ लाख रहेकोमा चालू आवमा बढेर रू. ३० करोड ७३ लाख पुगेको छ ।
कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३५ करोड रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी शून्य दशमलव ८० पैसा, तरलता अनुपात १ दशमलव २८ गुणा र प्रतिशेयर नेटवर्थ ९७ रूपैयाँ ३० पैसा रहेको छ । हाल कम्पनीले निर्माण गरेको सोलु जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् निर्बाध रूपमा विक्री गर्ने वातावरण बनाई कम्पनीलाई आर्थिक रूपले सबल बनाउने वित्तीय विवरणमार्फत उल्लेख गरेको छ ।