काठमाडौं । अष्ट्रेलियाकी महिला पर्वतारोही एली पेपरले बिना अक्सिजन विश्वका १०औं अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहण गरेकी छन् ।
पेपरले उनका गाईड मिकेल शेर्पा र निमा शेर्पाका साथमा आज (आइतबार) दिउँसो १२ बजेर ७ मिनेटमा अन्नपूर्ण–१ हिमालमा पाइला टेकेकी जानकारी दिइन् । पेपरले अन्नपूर्ण–१ को चुचुरोबाट देखिएको दृश्यको बारेमा सुनाएकी छन् ।
दुई वर्ष भित्र विश्वका आठ हजार मिटर अग्ला १४ ओटा हिमालहरु आरोहण गर्ने लक्ष्य लिएकी उनले अन्नपूर्ण–१ हिमालको चुचुरोमा पाइला टेकेसगैं तीन ओटा आठ हजार मिटर अग्ला हिमालहरु सफलतापूर्वक आरोहण गर्न सफल भएकी हुन् । उनले यसपछि कञ्चनजङ्घा हिमालको आरोहण गर्ने छिन् । त्यसपछि मकालु हिमालको आरोहण गर्ने लक्ष्य रहेको छ । आफूले तोकेको समय भित्र नै १४ वटै हिमालहरुको चुचुरो सम्म पाइला टेक्ने पेपरको भनाइ छ ।
बिना अक्सिजन विश्वका आठ हजार मिटर अग्ला १४ ओटा हिमालका चुचुराहरूमा पुग्ने आफ्नो सपना पूरा गर्न उनी गएको मार्च महिनाको पहिलो हप्ता टिमसहित काठमाडौं आइपुगेकी थिइन् । उनले विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरु आरोहण गर्न २००७ मा माउन्ट चोयु हिमाल तिब्बत तर्फबाट बिना अक्सिजन हिमाल आरोहण गर्न थालेकी हुन् ।
यसअघि उनले विश्वका आठ हजार मिटर अग्ला १४ ओटा हिमालहरु मध्ये दुई ओटा हिमालको अक्सिजनको प्रयोग नगरी सफल आरोहण गरी सकेकी छन् । सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२औँ अग्लो हिमाल ब्रोडपिक (८,०५२ मिटर) र विश्वको पाँचौं अग्लो हिमाल मनास्लु (८,१६३ मिटर) को सन् २०२३ को सेप्टेम्बर २८ तारिखका अक्सिजनको प्रयोग नगरी सफल आरोहण गरी सकेकी छन् ।
सिड्नीकी पर्वतारोही पेपरले सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२ औँ अग्लो हिमाल ब्रोडपिक (८,०५२ मिटर) को बिना अक्सिजन सफल आरोहण गरी पहिलो अष्ट्रेलियाली महिला बनेकी थिइन ।
हालसम्म छ जनाले मात्र अक्सिजन बिना विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरु आरोहण गरेका छन् । त्यसमा पनि विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरुको मुख्य चुचुरोमा पुगेका भने दुई जना मात्र छन् । उनीहरु १६ वर्ष लगाएका थिए ।