काठमाडौं। मोबाइल फोन इम्पोर्टर्स एशोसिएशन (एमपिआईए)ले नेपाल मोबाइल वितरक संघ (एनएमडिए)का नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई बधाईसहित सम्मान गरेको छ ।
एमपिआईएका अध्यक्ष दीपककुमार मल्होत्राले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)को प्रभावकारी कार्यान्वयनमा एमपिआईए, एनएमडिए र नेपाल मोबाइल व्यवसायी महासंघ (एफएनएमबिए)बीच सहकार्य हुनुपर्ने बताए । सहकार्यलाई थप सशक्त बनाउँदै सुरक्षित, व्यवस्थित र मर्यादित मोबाइल व्यवसाय वातावरण निर्माणमा उनको जोड छ । उनले उपभोक्तालाई गुणस्तरीय सेवा र सुविधा सुनिश्चित गर्नु नै सबैको साझा लक्ष्य रहेको बताए ।
एमपिआइएका उपाध्यक्ष सञ्जय अग्रवालले मोबाइल क्षेत्रमा व्याप्त असुरक्षित उधारो कारोबारलाई नियन्त्रणमा ल्याउन र अवैध मोबाइल आयातलाई रोक्न तत्कालीन आवश्यकता रहेको विचार व्यक्त गरे । एनएमडिएका नवनिर्वाचित अध्यक्ष रघु त्रिपाठीले एमपिआईए र एनएमडिएबीच आगामी दिनमा थप सुदृढ समन्वयका साथ मोबाइल व्यवसायको प्रवर्द्धन र व्यवसायिक शुद्धता कायम राख्ने प्रतिबद्धता व्यक्त गरे । उनले मोबाइल बजारमा देखा परेका चुनौती र भविष्यका सम्भावनाको चर्चा गर्दै सहकार्यमै सम्भावनाको मार्ग खुल्ने विश्वास व्यक्त गरे ।