काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले नेपालमा पहिलो पटक क्षेत्रीय करेस्पोण्डेन्ट बैंकिङ्ग एकेडेमी कार्यक्रम शुक्रवार (आज) काठमाडौंमा सम्पन्न गरेको छ ।
अन्तरराष्ट्रिय बैंकिङ क्षेत्रमा वित्तीय सञ्जालहरूलाई सुदृढ बनाउने, अनुपालन मापदण्डहरू सुधार गर्ने र वैश्विक उत्कृष्ट अभ्यासहरूलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ नियामक निकायहरू र प्रमुख वित्तीय संस्थाहरूसँगको सहकार्यमा कार्यक्रम गरेको बैंकले जानकारी दिएको छ ।
दुईदिने उक्त कार्यक्रममा आसियान र दक्षिण एसियाका १५ राष्ट्रका केन्द्रीय बैंक, नियामक निकायका प्रतिनिधिहरू तथा बैंकिङ्ग क्षेत्रका १३० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता थियो ।
कार्यक्रमको उद्घाटन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एवम् मनि लाउन्डरिङ समन्वय समितिका संयोजक फणिन्द्र गौतमले गरेका थिए । उनले वित्तीय अपराध नियन्त्रणमा सरकार र बैंकिङ्ग क्षेत्रबीच सहकार्यको आवश्यक रहेकोमा जोड दिए।
उक्त कार्यक्रमअन्तर्गत कार्यशाला, प्यानल छलफल तथा केस स्टडी गरिएको थियो । कार्यक्रममा अवैध सम्पत्ति शुद्धीकरण विरुद्धका मापदण्डहरू, आतंकवादी वित्तीयकरण रोकथाम, क्रस-बोर्डर कारोबारका चुनौतीहरूलगायत विषयमा छलफल गरिएको थियो ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोरख राणाले वित्तीय प्रणालीलाई सुरक्षित राख्नको लागि आतंकवादी वित्तीयकरण प्रतिबन्धका मापदण्डसम्बन्धी ज्ञानलाई पुनःताजगी गर्नु कार्यक्रमको उद्देश्य रहेको बताए ।