काठमाडौं । नेपालको इन्टेरियर डिजाइन कम्पनी बेलाकासा इन्टरनेशनलले अष्टे्रलियन फेब्रिक ब्राण्ड ‘वार्विक’ भित्त्याएको छ । चीन, जापान, बेलायत लगायत देशमा समेत विस्तार भएको वार्विक ब्राण्डका फेब्रिकसहित अन्य प्रडक्ट कम्पनीले नेपाली बजारमा ल्याएको हो ।
कम्पनीका निर्देशक सपना सापकोटाले पुरानो बेलाकासालाई पुन: सञ्चालनमा ल्याइएको जानकारी दिइन् । उनले वार्विक ब्राण्डका फेब्रिक, वालपेपरलगायत प्रडक्ट ग्राहकले उचित मूल्यमा पाउने बताइन् । उनका अनुसार कम्पनीले आकारअनुसार न्यूनतम २ हजार रुपैयाँदेखि ४ हजार ५०० रुपैयाँसम्मका फेब्रिक प्रडक्ट विक्री गर्दै आएको छ । तीनतारेदेखि पाँचतारे होटेल यसका प्रमुख ग्राहक रहेको उनले बताइन् ।
कम्पनीका अनुसार होटल, रेस्टुराँ, ब्याङ्क्वेट, सूचनाप्रविधि कम्पनी, आवासीय भवनहरू उक्त ब्राण्डको प्रडक्टका लक्षित ग्राहक हुन् । बेलाकासाले अहिले सो ब्राण्डका प्रडक्ट काठमाडौंमा मात्रै विक्रीवितरण गर्दै आएको छ । ‘ब्राण्ड भित्त्याएसँगै डिलर खोल्ने तयारी पनि गरिएको छ,’ सापकोटाले भनिन्, ‘काठमाडौं ठूलो बजार भएकाले अहिले यहाँ चारओटा जति डिलर खोल्ने तयारी गरेका हौं ।’ त्यसपछि पोखरा, बुटवल जस्ता शहरमा पनि डिलर खोल्ने योजना रहेको जानकारी उनले दिइन् । बेलाकासा ‘वान स्टप सोलुसन’ रहेको भन्दै उनले कम्पनीका शोरूममा ग्राहकले चाहेअनुसार फर्निचरदेखि वालपेवरसम्मका सामग्री पाइने बताइन् ।