औषधि व्यवस्था विभागमा पर्याप्त मात्रामा दरबन्दी नहुँदा निजीक्षेत्रका कामकारबाही प्रभावित भएका छन् । पटकपटक दरबन्दी थप्न आग्रह गर्दा अनि सरकारले बेवास्ता गरेकाले नियमित कार्यमा असर पुगेको विभागका कर्मचारीले बताएका छन् । विभागले विगत ५ वर्षदेखि सरकारसँग ३६ जनाको दरबन्दी थप्न माग गर्दै आएको छ । नेपाली औषधि उद्योगले उत्पादन गरेको औषधि परीक्षण गर्न औषधि व्यवस्था विभागको राष्ट्रिय औषधि प्रयोगशालामा करीब १ वर्ष लाग्छ । यसले व्यवसायीलाई मात्र नभई राज्यलाई समेत घाटा पुयाएको मन्त्रालयस्रोतले बताएको छ । त्यस्तै, पर्याप्त मात्रामा कर्मचारी नभएका कारण औषधि उद्योग दर्ता, गैरकानूनी रूपमा सञ्चालित फार्मेसीको अनुगमनसमेत प्रभावित भएको विभागको भनाइ छ ।
अहिले पनि औषधि व्यवस्था विभागमा दिनमा तीनओटासम्म औषधि उद्योग दर्ताका लागि आउने गरेको स्रोतको भनाइ छ । तर, कर्मचारी अभावका कारण कुनै पनि काम सहज रूपमा हुन सकेको छैन । विभागले दरबन्दी थप गर्न ५ वर्षअघि स्वास्थ्य मन्त्रालयमा फाइल पठाएको हो । स्वदेशी औषधि उद्योग दैनिक नयाँनयाँ प्रडक्ट उत्पादनका लागि विभागमा स्वीकृति लिन आउने गर्छन् । तर, कर्मचारी अभावले एकै दिनमा कुनै काम नहुने विभाग स्रोतले बताएको छ ।
वर्ष ८, अंक १५४, बुधवार, ९ फागुन, २०६९