मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले मंगलवार (आज) पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरू केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
मुख्यमन्त्री जम्कट्टेलले मौजुदा मन्त्रिपरिषद्मा हेरफेर गरी चार जना मन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्रीको सिफारिसअनुसार प्रदेश प्रमुख शर्माले बागमती पोखरेललाई वन तथा वातावरण मन्त्रालय, रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय, एकालाल श्रेष्ठलाई खानेपानी, सिँचाइ तथा उर्जा र प्रकाश श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।
यसैबीच प्रदेश प्रमुख शर्माले नेकपा एकीकृत समाजवादीका तर्फबाट रमा आले मगरलाई विना विभागीय मन्त्रीमा शपथ गराएका छन् । रासस