काठमाडौं । आर्थिक गतिविधिमा कमी आई कर्जा असुली कमजोर हुँदा चालू आर्थिक वर्ष (आव) को वैशाखसम्ममा बैंक, वित्तीय संस्थाको नाफा १५ प्रतिशतभन्दा धेरैले घटेको छ । आर्थिक गतिविधिमा आएको शिथिलतासँगै बैंकहरूको कर्जा लगानी घट्नुका साथै जोखिम व्यवस्थाबापत छुट्ट्याउनुपर्ने रकम बढेपछि नाफामा असर परेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार आव २०८०/८१ को वैशाखसम्ममा बैंकहरूले ५३ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो आवको यसै अवधिको तुलनामा नाफा १५ दशमलव शून्य ३ प्रतिशतले कम हो । गत आवको यसै अवधिमा बैंकहरूले ६२ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएका थिए ।
चालू आवको चैतसम्मको तुलनामा भने बैंक, वित्तीय संस्थाको नाफा १९ दशमलव शून्य ८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले जेठ १३ गते निर्देशन जारी गर्दै बैंकहरूको असल कर्जामा १ दशमलव २० प्रतिशत मात्र जोखिम व्यवस्था गर्नुपर्ने प्रावधान ल्याएको थियो ।
नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवनकुमार दाहाल भन्छन्– अहिले नाफा कम भएको देखिए पनि भोलि कर्जा असुली भएपछि रिकभर हुन्छ ।
बैंकहरूले जोखिम बापत छुट्ट्याउनुपर्ने रकम वृद्धिले पनि नाफा प्रभावित भएको छ । चालू आवको वैशाखसम्मा बैंकहरूले जोखिम व्यवस्थाबापत ७८ अर्ब ५८ करोड रुपैयाँ छुट्ट्याएका छन् । अघिल्लो वर्ष यसै अवधिको तुलनामा यो रकम ४६ दशमलव ५६ प्रतिशतले बढी हो । राष्ट्र बैंकले हाल असल कर्जामा १ दशमलव २०, सुक्ष्म निगरानी कर्जामा ५, कमसलमा २५, शंकास्पदमा ५० र खराबमा शतप्रतिशत जोखिम व्यवस्थाबापत रकम छुट्ट्याउनुपर्ने व्यवस्था गरेको छ ।
गत आवको वैशाखसम्मको तुलनामा चालू वर्षको वैशाखसम्ममा सबैभन्दा बढी फाइनान्स कम्पनीको नाफा ६३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको १० महीनामा फाइनान्स कम्पनीहरूले १ अर्ब १४ करोड रुपैयाँ नाफा कमाएकोमा यस वर्ष ४१ करोडमा सीमित भएको छ । फाइनान्स कम्पनीहरूले जोखिमबापत छुट्ट्याउनुपर्ने रकम ४३ दशमलव ७८ प्रतिशतले वृद्धि भएको छ ।
यस्तै वाणिज्य बैंकहरूको नाफा १४ दशमलव ९६ प्रतिशतले घटेको छ । गत आवको वैशाखसम्ममा वाणिज्य बैंकहरूले ५७ अर्ब १६ करोड रुपैयाँ नाफा गरेकोमा चालू आवको सोही अवधिमा ४८ अर्ब ६० करोड रुपैयाँमात्र नाफा गरेका छन् ।
विकास बैंकहरूको नाफा २०८० वैशाखसम्ममा ४ अर्ब २९ करोड रुपैयाँ रहेकोमा २०८१ वैशाखमा २ दशमलव ८५ प्रतिशतले घटेर ४ अर्ब १७ करोड रुपैयाँमा सीमित भएको राष्ट्र बैंकले बताएको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको वैशाखसम्ममा बैंक, वित्तीय संस्थामा रहेको निक्षेप ४ खर्ब ४३ अर्ब ८ करोड (७ दशमलव ८ प्रतिशत)ले वृद्धि हुँदा कर्जा प्रवाह भने २ खर्ब २५ अर्ब २४ करोड (४ दशमलव ७ प्रतिशत)ले मात्र वृद्धि भएको छ । बैंकहरूले निक्षेप वृद्धिअनुसार कर्जा प्रवाह गर्न नसक्दा आम्दानी प्रभावित भएको हो । बैंकहरूको कर्जा असुली नहुँदा चालू वर्षको तेस्रो त्रैमासमा १० ओटा वाणिज्य बैंकहरूको वितरणयोग्य नाफा नकारात्मक भएको थियो ।
नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवनकुमार दाहाल आर्थिक गतिविधिमा कमी आउँदा बैंकहरूको खराब कर्जा बढिरहेको र यसबाट नाफामा असर परेको बताउँछन् । ‘बैंकहरूले कमाएको ठूलो रकम प्रभिजनिङमा छुट्ट्याउनुपरेको छ,’ उनले भने, ‘अहिले नाफा कम भएको देखिए पनि भोलि कर्जा असुली भएपछि रिकभर हुन्छ ।’