काठमाडौं । सरकारी र पब्लिक लिमिटेड कम्पनीहरूले बुझाएको आयकर स्वात्तै घट्दा सरकारले चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ६ महीनामा संकलन गरेको जम्मा संस्थागत आयकर घट्न गएको अर्थ मन्त्रालयले बताएको छ ।
ऋणात्मक देखिएका कर शीर्षक
- संस्थागत आयकर
- पारिश्रमिक कर
- ब्याजमा लाग्ने कर
- लगानीको आकस्मिक लाभमा लाग्ने कर
- सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
संस्थागत आयकर भनेको कम्पनी तथा संस्थाहरूले सरकारलाई बुझाउने आयकर हो । उनीहरूको सञ्चालन मुनाफा राम्रो भएमा आयकर पनि बढ्ने हो । साथै आफ्नो पारिश्रामिकबाट व्यक्तिहरूले पनि पारिश्रमिक कर बुझाउँछन् । प्राइभेट लिमिटेड कम्पनीहरूले बुझाएको आयकरमा उच्च वृद्धि रहेको भए पनि सरकारी र पब्लिक लिमिटेड कम्पनीहरूले बुझाएको आयकर घट्दा समग्र संस्थागत आयकर प्रभावित भएको हो ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन अनुसार चालू आवको पहिलो ६ महीनामा संस्थागत आयकर ११ दशमलव ९० प्रतिशतले घटेको छ । सरकारी कम्पनीहरूबाट प्राप्त आयकर १८ दशमलव १५ प्रतिशत र पब्लिक लिमिटेड कम्पनीबाट प्राप्त आयकर ३५ दशमलव २९ प्रतिशतले घट्दा संस्थागत आयकर घटेको हो । चालू आवको ६ महीनामा जम्मा संकलित आयकरमा पब्लिक लिमिटेड कम्पनी र प्राइभेट लिमिटेड कम्पनीहरूको योगदान लगभग बराबर रहेको छ ।
‘दूरसञ्चार क्षेत्रको आम्दानी क्रमश: कम हुनु संस्थागत आयकर घट्नुको एउटा प्रमुख कारण हो,’ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाका एक उच्च अधिकारीले आर्थिक अभियानसँग भने, ‘साथसाथै, सरकारी संस्थान तथा पव्लिक लिमिटेड कम्पनीको आम्दानीमा गिरावट आउँदा त्यस्तो कर बढ्न सकेको छैन ।’
चालू आवको पहिलो त्रैमासमा नेपाल टेलिकमको कर तिर्नुअघिको नाफा उस्तै देखिन्छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको यस्तो नाफा ३ अर्ब ३३ करोड रहेकोमा चालू आवको उक्त अवधिमा ३ अर्ब ५५ करोड रहेको छ ।
कम्पनीको दोस्रो त्रैमासको विवरण सार्वजनिक भएको छैन । तर, गत आव २०८१/८२ मा अग्रिम आयकर १ अर्ब ७० करोड मात्र यस कम्पनीले तिरेको थियो । जबकि अघिल्लो आव ४ अर्ब ६२ करोड रुपैयाँ अग्रिम आयकर तिरेको थियो । त्यसैगरी चालू आवको दोस्रो त्रैमासमा बैकहरूको खुद मुनाफा ४ दशमलव ६२ प्रतिशतले घट्यो । २० मध्ये ११ ओटाको नाफा बढ्यो भने ९ ओटाको घटेको तिनीहरूको वित्तीय विवरणले देखाउँछ । बैंकहरूमा अधिक तरलता भए पनि कर्जा विस्तार सुस्त हुँदा उनीहरूको नाफा प्रभावित भएको देखिएको छ ।
‘संस्थागत आयकर कम हुनुमा समग्रमा अर्थतन्त्र सुस्त हुँदा कम्पनीहरूको नाफामा गिरावट आउनु हो,’ पूर्वमन्त्री तथा अर्थसचिव विद्याधर मल्लिकले भने, ‘केही वर्षयता दूरसञ्चार कम्पनीहरूको आम्दानीमा निरन्तर गिरावट आउँदा पनि संस्थागत आयकरमा असर गरेको छ ।’ बजेटको अर्धवार्षिक समीक्षाअनुसार बैंक तथा वित्तीय संस्थाहरूले कर्जा विस्तार गर्न नसक्दा ब्याजमा लाग्ने आयकर १४ दशमलव ७० प्रतिशतले घटेको छ । अहिले बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर पनि घटेको अवस्था छ । ‘ब्याजमा लाग्ने कर घट्नुको मुख्य कारण बैंक ब्याजको औसत दर निरन्तर घटनु हो,’ अर्थ मन्त्रालयका ती अधिकारीले भने । साथै पारिश्रमिक कर पनि २ दशमलव १७ प्रतिशतले घटेको छ । उनका अनुसार पारिश्रामिक आयकर पनि घट्नु गम्भीर विषय हो । यसले देशमा रोजगारीको अवस्था पनि बिग्रिएको संकेत गर्ने उनले बताए ।