बैंकिङ शिक्षा भनेको बैंक तथा वित्तीय संस्थाहरूको नीतिनियम, यसको अर्थ, महत्त्व, आवश्यकता, बैंकले दिने सेवा, बैंकिङ वस्तुको मूल्य, सेवा लिँदा तिर्नुपर्ने शुल्क र अन्य यससँग सम्बद्ध विविध विषयका बारेमा सर्वसाधारण सेवाग्राही र ग्राहकलाई दिने जानकारी मात्र नभई बैंक तथा वित्तीय संस्थाले दिने सेवाको तरीका, ग्राहकसँग गर्ने व्यवहार, कर्मचारीले बैंकमा पालना गर्नुपर्ने अनुशासनलगायत विषय पर्छन् । यसले कुनै पनि व्यक्तिसँग भएका आर्थिक तथा वित्तीय स्रोत तथा साधनको, वित्तीय क्षेत्रमा उत्पादित वस्तुका बारेमा प्रभावकारी एवं मितव्ययी उपयोग गर्ने विधि र ज्ञान दिन्छ ।
सीमित स्रोतसाधनको उच्चतम उपयोगबारे ग्राहक तथा सर्वसाधारणलाई जानकारी दिन्छ र आर्थिक उन्नति गर्ने ज्ञान, शीप र कला प्रदान गर्छ । आर्थिक सहयोग र विकाससम्बन्धी संस्था ओईसीडीको तथ्यांकअनुसार नेपालमा वित्तीय साक्षरताको प्रतिशत ५७ दशमलव ९ देखिन्छ जसमध्ये शहरी क्षेत्रमा ६५ दशमलव ४ प्रतिशत र ग्रामीण क्षेत्रमा ५५ दशमलव ७ रहेको छ । यसरी सरदरमा कुल ४० प्रतिशतभन्दा बढी जनसंख्याले बैंक र यसको उत्पादन के हो यसले के गर्छ भन्ने बुझेको देखिँदैन । त्यसो त बैंक बुझेका मानिसका लागि पनि अधिकांश बैंकिङ सेवासुविधा सम्बन्धमा बैंक कर्मचारीले जानकारी दिन हिचकिचाउने प्रवृत्ति पछिल्लो समय बढेको देखिन्छ । बैंकहरूले आफूले सुचारु गरेको सेवा र परिवर्तन गरेको सेवा बारेमा विभिन्न माध्यमबाट वा बैंकमा आउने ग्राहकलाई यससम्बन्धी जानकारी दिनुपर्छ । प्रविधिको विकाससँगै बैंकिङ सेवा, शर्त एवं सुविधा पनि प्रविधिमैत्री भइरहेको अवस्थामा जतिसुकै बैंक बुझेको साक्षर व्यक्ति भए पनि परिवर्तित सेवाबारे थाहा नहुन सक्छ । तसर्थ यस बारेमा स्पष्ट जानकारी ग्राहकलाई दिनु बैंकिङ क्षेत्रको दायित्व हो । विश्व ग्लोबल भिलेजबाट डिजिटल भिलेजमा प्रवेश गरिरहेको छ । नेपालका बैंक तथा वित्तीय संस्थाहरू डिजिटल कारोबारमा धेरै अगाडि बढिसकेको हुँदा वित्तीय शिक्षा आजको टड्कारो आवश्यकता बन्न पुगेको कुरालाई सम्बद्ध निकायले बेलैमा हेक्का राख्न जरुरी छ ।
प्रतिवर्ष बैंकिङ शिक्षाका नारा पनि परिवर्तन भइरहेको छ । त्यस्तै प्रतिवर्ष ग्लोबल मनी विक भव्यतापूर्वक बैंकिङ क्षेत्रले सप्ताहव्यापी रूपमा मनाउँदै आइरहेको भए तापनि प्रोटेक्ट योर मनि सेक्योेर योर फ्युचर भन्ने नारा कति सार्थक भयो ? यस्ता कार्यक्रमबाट कति मानिस साक्षर भए र हुन सक्छन् भन्ने कुरामा अध्ययनसमेत गर्न जरुरी छ । डिजिटल सुरक्षा, पैसाको सुरक्षा र प्रयोग, नोटको जतन, वित्तीय जोखिम र अन्य बैंकिङ सेवाबारेमा गाउँघरमा शिविर नै सञ्चालन गरी बैंकिङ शिक्षा दिन जरुरी भइसकेको छ । हुन त नेपाल राष्ट्र बैंकले सन् २०२२ देखि नै लागू हुने गरी वित्तीय साक्षरता फ्रेमवर्क पनि जारी गरी कार्यान्वयनमा ल्याएको पाइन्छ जसमा समूह छलफल, स्टेकहोल्डरसँगको अन्तरक्रिया, एक अर्कोबाट सिक्ने र सिकाउने, वित्तीय आचरण, ग्राहक संरक्षण, प्रविधिसम्बन्धी ज्ञान दिनेबारेमा प्रतिबद्धता जनाइएको देखिन्छ । तर, व्यवहारमा यसको कार्यान्वयनको अवस्था के कस्तो छ भन्नेबारेमा कुनै जानकारी दिने व्यवस्था गरिएको देखिँदैन ।
बैंकिङ कार्यक्रमहरूमा नियमित सबै बैंकरहरूबाट सुन्न सकिन्छ बैंकिङ साक्षरता, बैंकिङ शिक्षाको र यसको उपादेयताको चर्को भाषण र आवाज तर यो शिक्षा कसरी प्रदान गर्ने, कसलाई, कतिबेला कहाँ प्रदान गर्ने भन्ने बारेमा स्पष्ट गाइडलाइनको अभाव देखिन्छ । नेपाल राष्ट्र बैंकको इ.प्रा.निर्देशन नं. २१/०७५मा भनिएको छ, आफूले प्रदान गर्ने वित्तीय सेवा, सबै प्रकारका खाता एवं कर्जा र वित्तीय उपकरणसम्बन्धी जानकारीको संक्षिप्त विवरण/पुस्तिका तयार गरी ग्राहक एवं सर्वसाधारणलाई उपलब्ध हुने व्यवस्था मिलाउनुपर्नेछ । तर, वित्तीय शिक्षासम्बन्धी पुस्तिका ग्राहक तथा सर्वसाधारणको पहुँचमा देखिँदैन । वार्षिक कार्यक्रममा ब्यानर लिएर विभिन्न कार्यक्रम गर्दा बैंकिङ ज्ञानसम्बन्धी सैद्धान्तिक ज्ञान त केही होला तर व्यावहारिक ज्ञान हुँदैन । केही यससम्बन्धी सीमित गोष्ठी गर्दैमा वित्तीय शिक्षाको प्रवर्द्धन हुँदैन ।
वार्षिक कार्यक्रममा ब्यानर लिएर विभिन्न कार्यक्रम गर्दा बैंकिङ ज्ञानसम्बन्धी सैद्धान्तिक ज्ञान त केही होला तर व्यावहारिक ज्ञान हुँदैन । यससम्बन्धी गोष्ठीहरू गर्दैमा वित्तीय शिक्षाको प्रवर्द्धन हुँदैन ।
यसका लागि त देशको विभिन्न क्षेत्रको गाउँघर, टोलमा गई बैंकिङ सेवा र यसको प्रयोगबारेमा सैद्धान्तिक तथा व्यावहारिक दुवै ज्ञान दिनुपर्छ । बैंकिङ क्षेत्रको वार्षिकोत्सव र यस्तै राष्ट्रिय स्तरका कार्यक्रममा यस बारेमा जोड दिइएकोबाहेक नियमित रूपमा बैंकसम्बन्धी जानकारी दिने पुस्तिका प्रकाशन, कार्यालयभित्र एकाइ गठन वा डेस्क खडा भएको कमै देख्न सकिन्छ । कसैले बैंकको बारेमा रिसेप्शनमा सोध्यो भने जवाफ त आउला वा नआउला तर बैंक तथा यसको वस्तु तथा सेवाको बारेमा मात्र जानकारी दिने भनेर कहीँ कतै फरक डेस्कको व्यवस्था गरेको पाइँदैन । यसले बैंकिङ शिक्षामा कामभन्दा कुरा धेरै भएको र सम्बद्ध निकायको यसतर्फ अपेक्षित ध्यान दिन सकेका छैनन् भन्नुमा अन्त्युक्ति नहोला । बैंक तथा वित्तीय संस्थाको विद्यमान कानून, कार्यविधि, परिपत्र र म्यानुअलको सहजता एवं सरलताका बारेमा ग्राहकलगायतलाई बुझाउन र कर्मचारी आफैले अक्षरश: पालनामा कतै चुकेको हो कि भन्ने देखिन्छ । बेस रेट, प्रिमियम दर, हाइपो कर्जा, ओडी, हायरपर्चेज, गाडी लोन, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ आदि बारेमा वित्तीय रूपमा साक्षर ग्राहकलाई विस्तृत ज्ञानको समेत अभाव देखिन्छ । अज दूरदराजमा रहेको बैंकसम्बन्धी निरक्षरको त अवस्था निकै फरक छ जसले बैंक के हो र के काम गर्छ भन्नेसम्मको जानकारी राखेको पाइँदैन ।
वित्तीय शिक्षाको विकास र प्रवर्द्धन आजको आवश्यकता भएकाले विद्यालय र कलेजमा समेत यससम्बन्धी पाठ्यक्रमको व्यवस्था गर्नुपर्ने देखिन्छ । त्यसो त कलेज तहमा बैंकिङ र बीमा भन्ने पुस्तकको व्यवस्था छ तापनि पर्याप्त आधुनिक बैंकिङसम्बन्धी सूचना नभएको हुँदा वित्तीय साक्षरता वा शिक्षा भन्ने नामकरण नै गरी पाठ्यक्रम लागू गर्नुपर्ने देखिन्छ । हुन त नेपालमा वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, लघुवित्त र सहकारी, हुलाकबचत, शेयर बजारलगायतको प्रोडक्ट संस्थापिच्छे नै फरक हुन सक्ने भए तापनि साझा रूपमा हेर्दा शेयर मार्केट र विमा कम्पनीबाहेक बैंक तथा वित्तीय संस्था र यसले दिने सेवा तथा वस्तु एकै प्रकारको हुन्छ । त्यसैले बैंकिङ कारोबारलगायत विस्तृत रूपमा ज्ञान हुने पाठ्यक्रम नै तयार गरी लागू गर्न र बैंकिङ क्षेत्रले विश्वविद्यालय एवं अन्य विद्यालयमार्फत पहल गर्न ढिला भइसकेको देखिन्छ । यस्तो व्यवस्थाले मात्र महिला, बालबालिका के युवा के प्रौढ सबैलाई भविष्यमा खर्च र बचतको जानकारी दिने वित्तीय योजना र बचत गर्ने बानी बारे ज्ञान दिन सम्भव हुन्छ । वित्तीय शिक्षा दिगो बैंकिङका लागि, तरलता व्यवस्थापनका लागि, आन्तरिक सञ्चालन जोखिम कम गर्न, साइबर अपराधबाट बच्न, ग्राहक सम्बन्ध स्थापित गर्न, ग्राहक संरक्षण गर्न, कर्जा व्यवस्थापनलगायतमा अपरिहार्य छ भन्ने कुरा सबैमा बोध हुन जरुरी छ ।
बैंकिङ क्षेत्रमा केही नयाँ शब्दको प्रयोग र केही सामाजिक उत्तरदायित्वसम्बन्धी कार्य गरेर सेलिब्रेटी बन्नुभन्दा देशमा उद्यमशीलताको विकास गर्ने, बैंकिङ शिक्षाको प्रचुर मात्रामा प्रचारप्रसार गर्ने, नोटको जतन कसरी गर्ने भन्नेबारेमा थप शिक्षा प्रचार गर्ने, बैंक के हो र यसबाट केकस्ता सुविधाहरू पाइन्छ लगायतका विषयमा विभिन्न सञ्चारमाध्यम, फेसबुक, ट्वीटर आदिको माध्यमबाट गहन र सूक्ष्म जानकारी दिइएको भए तापनि यो पर्याप्त नहुँदा अधिकांश जनताले अझै पनि बैंक बुझेको अवस्था देखिँदैन । तर, नेपालमा सामाजिक सञ्जालमा फेशन शो, बैंकका प्रोडक्ट शो, हाम्रो बैंकले यस्तो कार्य गर्यो, मैले यस्तो कार्य गरें भन्दै विभिन्न विचार प्रस्तुत गर्नेहरूको पछिल्ला दिनमा लर्को लाग्ने गरेको भएता पनि अधिकांश जनता अझै पनि बैंक के हो बुझ्दैनन् । वित्तीय शिक्षाको लागि शहर, गाउँघरमा प्रदूषण नहुने गरी पोस्टर, पम्प्लेट, टेलिभिजनमार्फत सन्देश दिने, टेलिफिल्म बनाउने, विभिन्न बैंकिङ प्रोडक्टका बारेमा ग्रामीण क्षेत्रमा घरदैलो कार्यक्रममार्फत गाउँगाउँमा गएर बैंक तथा वित्तीय संस्था र यसको वस्तु तथा सेवाबारेमा सर्वसाधारण सबैलाई जानकारी दिने गर्नुपर्छ । दिगो, फराकिलो र समावेशी आर्थिक विकासका लागि बैंकिङ शिक्षा मेरूदण्ड भएकाले घुम्ती बैंकिङ, बैंक तथा वित्तीय संस्थाले दिने सेवा र शुल्क, बैंकसँग कारोबार गर्दा के फाइदा हुन्छ, बैंकबाट कर्जा कसरी पाइन्छ भन्ने जानकारी दिनुपर्छ ।
बैंकमा खाता खोल्ने सरल विधि, ग्राहक पहिचान विवरणलाई सहज र सरल बनाउने, मोबाइल बैंकिङ कसरी चलाउने, एबीबीएस भनेको केहो, एटीएम कार्डले रकम कसरी निकाल्ने, कुन सेवा लिँदा कहाँ सम्पर्क गर्ने, बैंकमा खाता नहुँदा र कारोबार नगर्दा के बेफाइदा छ भन्ने बारेमा अहिलेसम्म पनि धेरै व्यक्तिमा द्विविधा पाइन्छ ।
बैंकमा खाता खोल्ने सरल विधि, ग्राहक पहिचान विवरणलाई सहज र सरल बनाउने, मोबाइल बैंकिङ कसरी चलाउने, एबीबीएस भनेको केहो, एटीएम कार्डले रकम कसरी निकाल्ने, कुन सेवा लिँदा कहाँ सम्पर्क गर्ने, बैंकमा खाता नहुँदा र कारोबार नगर्दा के बेफाइदा छ भन्ने बारेमा अहिलेसम्म पनि धेरै व्यक्तिमा द्विविधा भएको हुँदा यससम्बन्धी गाइडलाइनको आधारमा विस्तृत डायरी प्रकाशन गर्नुपर्छ । सबै साक्षर ग्राहकलाई एवं सर्वसाधारणलाई समेत बैंकर्स एशोसिएशनको पहलमा वितरण गर्न सकेको खण्डमा अधिकांशमा बैंक तथा वित्तीय संस्थाको जानकारी हुने देखिन्छ । बैंकर्स एशोसिएशन शेयर होल्डरको हित गर्ने, कसरी नाफा मात्र गर्ने, कसरी आफ्नो हित गर्ने र कसरी नियमनकारी निकायसँग बार्गेनिङ गर्ने भन्नेलगायतमा मात्र पछि लागेको हो कि भन्नेतर्फ सर्वसाधारणको जिज्ञासा बढेको छ । केन्द्रीय बैंक र बैंकर्स एशोसिएशनले यसतर्फ आफ्नो दायित्वलाई थप विस्तार गर्दै बैंकिङ शिक्षा सर्वसाधारणमा कसरी दिने, कसरी बैंकिङ सुरक्षा र ग्राहकको हितमा काम गर्ने, कसरी छिटोछरितो र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने भन्ने विषयमा स्पष्ट रूपमा काम गर्नुपर्छ । नयाँ प्रविधिको विकास कसरी गर्ने, ग्राहकका चाहना अनुसारका वस्तु तथा सेवाको विकास कसरी गर्ने, कसरी बैंकिङ समावेशिता र विस्तारलाई अगाडि बढाउने, कसरी बढीभन्दा बढी बैंक तथा वित्तीय संस्थाप्रति जनविश्वास बढाउने भन्ने कार्यमा लाग्न सकेको खण्डमा मात्र दिगो आर्थिक विकासमा बैंक तथा वित्तीय संस्थाले खेलेको भूमिका अझ सुदृढ भई बैंकप्रति जनविश्वास बढ्ने कुरामा कसैको विमति नरहला ।
लेखक बैंक तथा वित्तीय संस्थासम्बन्धी विज्ञ हुन् ।