काठमाडौं । भ्रष्टाचारविरूद्ध काम गर्ने अन्तरराष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सत्ता र शक्तिमा पहुँचका आधारमा कसैलाई अपराधबाट उन्मुक्ति दिने तानाबाना बुन्नुजति अनुचित भएको बताएको छ ।
बिहीवार (आज) एक विज्ञप्ति जारी गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनलले स्वार्थको द्वन्द्व, रिसइबी वा बदलाको भावनाले कुनै पनि नागरिकविरुद्ध राज्यशक्तिको दुरुपयोग गर्नु पनि उत्तिकै अनुचित भएको बताएको छ ।
विज्ञप्तिमा कुनै पनि वास्तविक घटनालाई उल्लेख गरिएको छैन । तर, सहकारी ठगी मुद्दा, त्यसमा बहालवाला गृहमन्त्री रवि लामिछानेको नाम जोडिनु, कान्तिपुर दैनिकले निरन्तर समाचार प्रकाशन गर्नु र कान्तिपुर र लामिछानेबीच अस्वभाविक टसमसको अवस्था देखिएकै समयमा नागरिकता दुरूपयोगको आरोपमा कान्तिपुर ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको सन्दर्भमा यस्तो विज्ञप्ती आएको हो ।
'भ्रष्टाचार, जालसाजी, सार्वजनिक सम्पत्ति र रकमको अपचलनलगायत गम्भीर आपराधिक मामिलाहरू राजनीतिक स्वार्थ र लेनदेनका आधारमा दबाउने, कारवाही नै प्रारम्भ नगर्ने, छानबिन नै हुन नदिने, मुद्दा नचलाउने, शक्तिको केन्द्रमा रहेका जिम्मेदार व्यक्तिहरूलाई छानबिनको घेराबाटै बाहिर राख्ने, चलिरहेको छानबिन नै रोक्ने, साथै अदालतले दोषी ठहर गरेकाहरूलाई समेत सजायबाट उन्मुक्ति दिने जस्ता घटना र प्रवृत्ति निरन्तर बढ्दै गएको देखिएकोमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल गहन चिन्ता व्यक्त गर्दछ,' विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा थप भनिएको छ, 'सत्ता र शक्तिमा पहुँचका आधारमा कसैलाई अपराधबाट उन्मुक्ति दिने तानाबाना बुन्नुजति अनुचित हो, स्वार्थको द्वन्द्व, रिसइबी वा बदलाको भावनाले कुनै पनि नागरिक विरुद्ध राज्यशक्तिको दुरुपयोग गर्नु पनि उत्तिकै अनुचित हो । देशमा कसैले कुनै पनि बहानामा कानूनी प्रक्रियाबाट उन्मुक्ति पाउनु हुँदैन र सबै नागरिकले संविधान तथा कानूनले प्रत्याभूत गरेको संरक्षण पनि पाउनुपर्छ। अन्यथा दण्डहीनताले प्रश्रय पाउनुका साथै कानूनी राजको उपहास हुने र सुशासन जरैदेखि कमजोर भएर मुलुक गम्भीर असहजतातर्फ उन्मुख हुने कटुसत्यतर्फ ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल जिम्मेदार पक्षको ध्यान आकर्षित गर्न चाहन्छ ।'