काठमाडौं । सुक्खा सिजन शुरू भएसँगै नेपालले भारतबाट दैनिक ५० मेगावाट बिजुली आयात गर्न थालेको छ । नदी तथा खोलामा पानीको बहाव घट्दै गएर बिजुली अपुग हुन थालेपछि नेपाल विद्युत् प्राधिकरणले १ सातादेखि दिउँसोको समयमा भारतबाट बिजुली आयात गरिरहेको छ ।
प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले प्राधिकरणले रातिको समयमा बिजुली भारत निर्यात गरिरहे पनि दिनको समयमा आयात भएको बताए । ‘करीब १ सातादेखि हामीले दैनिक ५० मेगावाट विद्युत् आयात गरिरहेका छौं,’ उनले भने । घोषका अनुसार बेलुका ५ देखि ९ बजेसम्म बाहेकको समयमा अहिले भारतबाट बिजुली आयात गर्ने अनुमति छ । प्राधिकरणका अनुसार नोभेम्बर १९ देखि नेपालले भारतबाट बिजुली आयात गर्न अनुमति पाएको छ ।
अहिले ४ घण्टाबाहेक अन्य समयमा भारतबाट बिजुली आयात गर्न पाए पनि सन् २०२५ को मध्यमार्चबाट साढे २ महीना १२ घण्टा मात्र भारतले बिजुली दिने घोषले बताए । ‘मार्च १५ देखि मे ३० सम्म सोलार आवरमा भारतबाट बिजुली आयात हुन्छ,’ उनले भने । गतवर्ष पनि भारतले बिहान ६ बजेदखि बेलुका ६ बजेसम्म मात्र बिजुली दिएको थियो ।
त्यसैले ४५६ मेगावाटको माथिल्लो तामाकोशी तत्काल मर्मत अत्यावश्यक भएको घोषले बताए । ‘माथिल्लो तामाकोशी समयमा बनाउन सकिएन भने विद्युत् माग व्यवस्थापन गर्न गाह्रो हुने देखिन्छ,’ उनले भने ।
अपर तामाकोशी हाइड्रोपावर लिमिटेड सञ्चालक समिति अध्यक्ष समेत रहेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले बुधवार आयोजना स्थलको अवलोकनका साथै आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरी पुस १० भित्र विद्युत् उत्पादन शुरू गर्ने र त्यसको १५ दिनभित्रमा विद्युत् बढी माग हुने पिक समयमा चलाउने गरी मर्मतसम्भार सम्पन्न गर्ने गरी समय तालिका तय गरेको छ ।
बिजुली माग कम हुने समयमा पानी जम्मा गरी आयोजनालाई पिक समयका ४ घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले माथिल्लो तामाकोशीको बाँध क्षेत्रका संरचना (हेडवर्क्स) मा ठूलो क्षति पुर्याएको थियो । बाँध स्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रुम) भवन, बालुवा थिग्य्राउने पोखरी (डिस्यान्डर) र बाँधबाट डिस्यान्डरसम्म पानी पुर्याउने भूमिगत नहर (कल्भर्ट)मा ठूलो क्षति पुगेको थियो ।
दुईओटा डिस्यान्डरमध्ये बायाँतर्फको डिस्यान्डरको मर्मतसम्भार आगामी पुस १० गतेभित्र सम्पन्न गरी विद्युत् उत्पादन शुरू गर्ने तालिका प्राधिकरणले तय गरेको छ ।
प्राधिकरणका अनुसार आंशिक रूपमा क्षति पुगेको डिस्यान्डरको पर्खालको पुरानो ढलान भत्काएर मर्मत गरिनेछ । यसैगरी, कल्भर्टको भित्ता र सिलिङमा देखिएका चिराहरूको ग्राउटिङ गर्ने काम समानान्तर रूपमा अगाडि बढाइनेछ ।
दायाँतर्फको अर्को डिस्यान्डर मर्मत र हाल सतहमा रहेको कन्ट्रोल रुमलाई भूमिगत बनाउन डिजाइन गरी पुनर्निर्माण प्रक्रिया तत्काल अगाडि बढाइनेछ । यो काम आगामी वर्षायाम शुरू हुनुभन्दा अगाडि नै सक्ने लक्ष्य तय गरिएको प्राधिकरणले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । प्राधिकरणका अनुसार वर्षाले क्षति पुगेको आयोजनाको विद्युत् प्रवाह गर्ने प्रसारण लाइनको एउटा टावरको मर्मतसम्भार सकिएको छ ।
कार्यकारी निर्देशक घिसिङले माथिल्लो तामाकोशीबाट तोकिएको समयमा विद्युत् उत्पादन गर्न नसके देशभित्रको मागबमोजिम विद्युत् आपूर्ति गर्न नसकी अप्ठ्यारो अवस्था आउने भएकाले मर्मतसम्भारमा सबै गम्भीर र संवेदनशील भएर लाग्न आग्रह गरे ।
‘आगामी मार्चसम्म दिउँसो र राति मात्र भारतबाट विद्युत् आयात अनुमति पाएकाले आन्तरिक उत्पादनले हिउँदयामको साँझ र बिहान (पिक समय)को विद्युत् माग धान्न गाह्रो छ ।
मार्च र अप्रिलमा रातिमा समेत आयात गर्न अनुमति पाएका छैनौं । यस्तो अवस्थामा पिकिङ गर्न सकिने माथिल्लो तामाकोशी आएन भने अप्ठ्यारो अवस्था आउनेछ,’ घिसिङले भने ।