विराटनगर । ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआईएस) को मापदण्ड पूरा गरेका नेपालका करीब एक दर्जन प्लाइउड उद्योगले भारत निर्यात अनुमति पाएका छन् ।
बीआईएस मापदण्ड पूरा गरे पनि निर्यात अनुमति दिन ढिलाइ गरिरहेकोमा भारतले केही दिनयता १० ओटा प्लाइउड उद्योगलाई निर्यात अनुमति दिएको नेपाल प्लाइ उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरेले जानकारी दिए । तर, सबै उद्योगले अनुमति पाइसकेका छैनन् । संघका अनुसार देशभित्र ४७ प्लाइ उद्योग छन् । यसअघि विराटनगरका दुईओटा उद्योगले मात्र अनुमति पाउँदा अन्य उद्योगको उत्पादन नाकामा रोकिएको थियो । घिमिरेका अनुसार अहिले बीआईएसका प्राविधिकले नेपालका प्लाइको गुणस्तर परीक्षण गरिरहेका छन् । मापदण्ड पूरा भएका उद्योगलाई विनारोकतोक प्रमाणपत्र दिने कार्य भइरहेको घिमिरेले बताए ।
नेपालबाट निकासी हुँदै आएको प्लाइउडको गुणस्तरमा प्रश्न उठाउँदै आएको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्डले
नेपालका प्रमुख नाकाबाट भइरहेको निकासी ३ साताअघि रोकेको थियो । अहिले गुणस्तर पाएका उद्योगको प्लाइ निकासी भइरहेको घिमिरेले जानकारी दिए । तर, यसअघि नै काँकडभिट्टा नाकाबाट जाँचपास भएर पश्चिम बंगालको पानीटंकी नाकामा पुगेपछि गुणस्तरका कारणबाट रोकिएका ३४ ओटा नेपाली ट्रक शनिवार फर्काइएका छन् । अब ती प्लाइ उद्योगले गुणस्तर पाएपछि पुन: निकासी हुने अध्यक्ष घिमिरेले बताए ।
- भारतीय प्राविधिकको निरीक्षणपछि स्वीकृतिे
- २०२५ मे २८ भित्र सम्पूर्ण मापदण्ड पूरा गर्नुपर्ने
- चालू वर्षको फागुन मसान्तसम्म ६ अर्ब रुपैयाँको प्लाइउड भारत निकासी
गुणस्तरको कारण देखाउँदै रोकिएका प्लाइउडको ३४ ट्रक नेपालतिरै फर्किएको मेची भन्सार प्रमुख राजेन्द्रप्रसाद चुडालले पुष्टि गरे । प्लाइउड उत्पादक संघको तथ्यांकअनुसार नेपालमा ३७ अर्ब ५० करोड रुपैयाँ लगानीमा खुलेका ४७ ओटा प्लाइ उद्योग छन् ।
भारतको उद्योग संवद्र्धन तथा आन्तरिक वाणिज्य विभागले २०२४ नोभेम्बरमा जारी गरेको सूचनामा प्लाइउडका लघु, साना तथा मझौला उद्योगले २०२५ फेब्रुअरी २८ सम्म बीआईएस गुणस्तर प्रमाणपत्र लिनु नपर्ने बताएको थियो । विभागले २०२५ फेब्रुअरी २८ मा अर्को सूचना जारी गर्दै लघु, साना तथा मझौला उद्योगले आगामी मे २८ सम्म बीआईएस लिनु नपर्ने बताएको थियो । उक्त अवधिमा उद्योगहरूले आफ्नो गुणस्तर बढाएर बीआईएस स्ट्यान्डर्डमा पुर्याउने समयसीमा दिइएको थियो । तर, ३ साताअघि एकाएक प्लाइ निकासी रोकिएपछि नेपाली उत्पादकबीच अन्योल छायो ।
अहिले भारतबाट प्राविधिक आएर निरीक्षण गरी स्वीकृति दिन थालेकाले ३ महीनाभित्र यहाँका निकासी गर्ने सबै उद्योगले गुणस्तर पूरा गरेको प्रमाणपत्र पाउने र निकासी सहज हुने प्लाइउड उत्पादक संघका अध्यक्ष घिमिरेले बताए ।
भन्सार विभागको तथ्यांकअनुसार भारतलगायत मुलुकमा प्लाइउडको निकासी बढेको देखिन्छ । आर्थिक वर्ष (आव) २०७८/७९ मा ४ अर्ब ६८ करोड ९८ लाख ४४ हजार रुपैयाँ बराबरको प्लाइ निकासी भएको थियो । गत आव २०८०/८१ मा ४ अर्ब ८६ करोड ८६ लाख २६ हजार रुपैयाँको प्लाइ भारत निकासी हुँदा चालू वर्षको फागुन समान्तसम्ममा ६ अर्ब रुपैयाँको निकासी भइसकेको छ । उद्योगीले करीब १० अर्बको निकासी गर्ने लक्ष्य राखेको बताएका छन् । २ हजार ५०० जनाले प्रत्यक्ष रोजगारी रहेको प्लाइउड उद्योगहरूले भारतबाहेक अन्य मुलुकमा समेत आफ्नो उत्पादन निकासी गर्दै आएका छन् ।
नेपाल सरकारले तयारी प्लाइउडको निकासीमा नगद अनुदान दिने निर्णय गरेपछि उद्योगीले गत आवदेखि निर्यातलाई प्राथामिकता दिएका हुन् । तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूका पालामा प्लाइउडको नर्यातमा ४ देखि ८ प्रतिशतसम्म नगद अनुदान दिने निर्णय सरकारले गरेको थियो । पहाडी क्षेत्रमा पाइने उत्तिस, चिलाउने, कदम, आँप, आस्ना, कर्मालगायत काठको भेनियरबाट प्लाइउड निर्माण हुन्छ । झ्याल ढोकाको पल्ला, पार्टेशन र फर्निचर निर्माणमा प्लाइउड प्रयोग हुन्छ ।
प्लाइउड बोकेका ३४ ट्रक भारतीय नाकाबाट फर्काइए
फागुन २७ मा भारत निकासीका लागि ८ करोड ५० लाख मूल्य बराबरको प्लाइउड बोकेर मेचीपारि पानीटंकी पुगेका ट्रकलाई ३ सातापछि भारतीय भन्सारले गुणस्तर नपुगेको भन्दै फिर्ता पठाइदिएको छ । भारतीय भन्सार कार्यालयले ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआईएस) प्रमाणीकरण नभएको भन्दै नेपाली सामान नाकामै रोकिदिएपछि कूटनीतिक माध्यमबाट समस्याको समाधान गर्न खोजिए पनि त्यो सम्भव नभएपछि मालवाहक ट्रक फिर्ता आएको मेची भन्सार प्रमुख राजेन्द्रप्रसाद चुडालले बताए । उनले आफूले भन्सार विभाग र वाणिज्य दूतावासमार्फत प्रयास गरे पनि गुणस्तर कायम गरिएबाहेकका उद्योगको माल फिर्ता आएको हो ।
नेपाल प्लाइउड उत्पादक संघका केन्द्रीय अध्यक्ष होमप्रसाद घिमिरेले अहिले फिर्ता भएर आएको सामान पनि गुणस्तर परीक्षण पास भएपछि निकासी हुने बताए । अहिले बीआईएसका प्राविधिकले नेपाली प्लाइउड उद्योगहरूको गुणस्तर परीक्षण गरिरहेको र त्यसअन्तर्गत ती उद्योगसमेत परीक्षणबाट पास भएपछि सहज निकासी हुने उनको भनाइ छ ।