काठमाडौं । नेपालमा उत्पादनमूलक उद्योग (म्यानुफ्याक्चरिङ) क्षेत्रको विस्तार हुन नसक्दा औद्योगिक क्षेत्रबाट विद्युत्को माग धेरै बढ्न नसकेको विश्व बैंकले बताएको छ ।
त्यसैगरी यो क्षेत्र डिजिटल प्रविधि उपयोगमा पनि नेपालजस्तै अन्य राष्ट्रको तुलनामा पछि परेको विश्व बैंकले हालै सार्वजनिक गरेको ‘नेपाल राष्ट्रगत आर्थिक परिदृश्य : नेपालमा आर्थिक वृद्धिको सम्भावना उजागर’ प्रतिवेदनमा उल्लेख छ ।
सन् २०२२ मा म्यानुफ्याक्चरिङ क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा योगदान ६ प्रतिशतमा झरेको छ जुन दक्षिण एशियाका अन्य राष्ट्र र नेपालजस्तै अन्य राष्ट्रको तुलनामा कम हो । नेपालको औद्योगिक क्षेत्रले सन् २०२२ मा १२ हजार ८०० टेराजोल (३ अर्ब ५५ करोड युनिटभन्दा बढी) विद्युत् खपत गरेको थियो जबकि बंगलादेशको औद्योगिक क्षेत्रले उक्त वर्ष १ लाख ४७ हजार टेराजोल विद्युत् खपत गर्यो । एक टेराजोलमा २ लाख ७७ हजार ७७७ युनिट बिजुली हुन्छ । उत्पादनशील उद्योग क्षेत्रमा विद्युत्को उपभोग विगत १ दशकमा दोब्बर भए पनि यो अन्य नेपाल जस्तै देशको तुलनामा न्यून भएको विश्व बैंकको भनाइ छ ।
यसलाई प्रतिवेदनले नेपालमा जलविद्युत्को उपभोग बढाउनको लागि चुनौतीका रूपमा व्याख्या गरेको छ । प्रतिवेदनअनुसार नेपालमा गृहयुद्ध हुँदा पनि कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा ७ दशमलव ३ प्रतिशतको योगदान रहेको म्यानुफ्याक्चरिङ क्षेत्रको योगदान पछिल्लो समयमा ५ दशमलव ७ प्रतिशतमा झरेको छ । अर्थतन्त्रमा योगदानको दृष्टिले निर्माण क्षेत्रले म्यानुफ्याक्चरिङ क्षेत्रलाई उछिनिसकेको प्रतिवेदनमा उल्लेख छ ।
सन् २०१८ को ३१ मेमा नेपालमा पूर्ण रुपमा लोडशेडिङ हटे पनि बारम्बार बिजुली कटौतीको समस्याका कारण अधिकांश औद्योगिक फर्मले विद्युत् आपूर्तिमा विश्वसनीयता गुमाएको प्रतिवेदनमा उल्लेख छ । नेपालको औद्योगिक क्षेत्रले सन् २००७ देखि २०१७ को अवधिमा लोडशेडिङको जटिल समस्या भोग्नुपरेको थियो ।
प्रतिवेदनमा उल्लेख भएअनुसार ७६ प्रतिशत फर्महरूले अझै पनि नियमित बिजुली कटौतीको अनुभव गरिरहेका छन् । विद्युत् आपूर्तिमा फर्महरूको अविश्वास बढ्नुको मुख्य कारण भने कमजोर र सीमित प्रसारण र वितरण प्रणाली हो । अझै पनि प्रसारण लाइन, सबस्टेशन, र वितरण नेटवर्कहरूको बलियो पूर्वाधार नेपालमा तयार भइनसकेको प्रतिवेदनले बताएको छ ।
‘अविश्वसनीय बिजुली आपूर्तिले फर्महरूको उत्पादन र नाफामा उल्लेखनीय प्रभाव पारेको छ । सन् २०२२ मा बिजुली कटौतीका कारण १३ प्रतिशतभन्दा बढी फर्महरूले आफ्नो वार्षिक विक्रीको १० प्रतिशतभन्दा बढी घाटा बेहोरेको थिए,’ प्रतिवेदनमा उल्लेख छ ।
अर्थविद् ज्ञानेन्द्र अधिकारीले भरपर्दो पूर्वाधार अभावका कारण अझै पनि अधिकांश फर्म तथा उद्योगहरूले बिजुली प्रयोगको विश्वसनीयता गुमाएको बताए । उनका अनुसार कमजोर वितरण प्रणाली र विश्वसनीय सेवा अभावका कारण उद्योगहरूमा बिजुलीको प्रयोग सेवा क्षेत्रको तुलनामा कम रहेको हुन सक्छ । म्यानुफ्याक्चरिङ मात्र होइन सेवा क्षेत्रमा पनि बिजुलीको उपयोग न्यून रहेको प्रतिवेदनमा उल्लेख छ ।
अर्कोतर्फ, म्यानुफ्याक्चरिङ क्षेत्र डिजिटल भुक्तानी सेवा उपयोग गर्नमा पनि पछि परेको प्रतिवेदनमा उल्लेख छ । सन् २०२३ मा १० प्रतिशत म्यानुफ्याक्चरिङ कम्पनीले मात्र डिजिटल भुक्तानी गरेको प्रतिवेदनमा उल्लेख छ । डिजिटल पूँजी अर्थात् डिजिटल क्षेत्रको शीप, प्रतिस्पर्धात्मक क्षमता र प्रविधिको उपयोगमा पनि यो क्षेत्र पछि परेको प्रतिवेदनमा उल्लेख छ ।
अर्थविद् अधिकारीले डिजिटल भुक्तानी हुँदा उद्योगको आर्थिक पक्षमा पारदर्शिता हुने त्रासका कारण यस्तो भुक्तानी कम अपनाइएको हुन सक्ने बताए ।