काठमाडौं । नेपालको अटोमोबाइलका क्षेत्रमा सक्रिय रहेको (नाडा) अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) र हालै गठन भएको नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्राक्चरर्स एशोसिएशन ( नाईमा)ले आफूभित्र कुनै विवाद तथा समस्या नरहेको प्रष्ट्याउने कोसिस गरेका छन् ।
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल नाडाले लामो समयदेखि नेपालका अटोमोबाइल व्यवसायीहरूलाई समेट्ने साझा संस्था भएर काम गर्दै आएको थियो । हालै ऋतुसिंह वैद्यको नेतृत्वमा नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्राक्चरर्स एशोसिएशन ( नाईमा) गठन भएपछि नाडा भित्र विगत देखि रहेको विवाद सहतहमै आएको थियो ।
पछिल्लो समय कार्यगत र क्षेत्रगत विवाद समेत देखिन थालेपछि यी दुई संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै आफूमा कुनै विवाद नरहेको देखउने प्रयास गरेका छन् । विज्ञप्ति मार्फत उनिहरूले 'दुवै स्वतन्त्र संस्था सवारी साधन क्षेत्रको समग्र विकासप्रति प्रतिबद्ध' रहेको बताएका छन् ।
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल, अटोमोबाइल उद्योगलाई समर्थन गर्ने र राष्ट्र विकासमा योगदान पुर्याउने दृष्टिकोणले स्थापना गरिएको संस्था भएको तथा नेपालको अटोमोबाइल नीतिहरू निर्माण गर्न तथा उद्योगसँग सम्बन्धित चुनौतीहरू समाधान गर्न महत्त्वपूर्ण भूमिका खेलेको विज्ञप्तिमा उल्लेख छ ।
नयाँ गठन भएको नाईमा मोबिलिटी सशक्तीकरणको वकालतका लागि गठन गरिएको संस्था भएको तथा यसमा नेपालका अटोमोबाइल आयातकर्ता र निर्माता प्रतिनिधित्व गर्छन् भन्दै बचाउ गरिएको छ ।
'दुवै संस्था अटोमोबाइल व्यवसायमा प्रत्यक्ष संलग्न भएकाले केही सदस्य कम्पनीहरू दुबै संघको भाग बन्ने छनौट गर्न सक्छन् । तथापि, प्रत्येक संघले आफ्नो लक्ष्यप्रति प्रतिबद्ध रहँदै स्वतन्त्र रूपमा आफ्नो प्रयाशहरू जारी राख्नेछ,' विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा थप भनिएको छ, 'हालै नाईमाको स्थापनासँग सम्बन्धित छलफल तथा समाचारहरूबाट नाडाको भूमिकालाई लिएर केही भ्रमहरू उत्पन्न भएका छन् । हामी स्पष्ट पार्न चाहन्छौं कि नाडा र नाइमा दुबै संस्थाको स्वतन्त्र सह अस्तित्वले नेपालमा अटोमोबाइल उद्योगलाई सशक्त बनाउनेछ भन्ने कुरामा दुबै संस्थाले विश्वास गर्छन् ।'
नेपालको अटोमोबाइल क्षेत्र दिगोपन, नवप्रवर्तन र नीतिगत स्थिरतातर्फ अग्रसर हुँदै गर्दा, नाडा र नाइमा दुवै संस्थाहरू व्यवसायीहरूको हक र हितको संरक्षण, उद्योगमैत्री नीति निर्माणमा सहकार्य, तथा समग्र क्षेत्रको प्रगतिमा पूर्ण रूपमा प्रतिबद्ध रहेको बताइएको छ ।
नाइमाले २०८२ साल वैशाख ४ गते (१६ अप्रिल २०२५) मा आफ्नो औपचारिक शुरू हुँदैछ । सो अवसरमा संस्थाले आफ्नो स्पष्ट दृष्टिकोण), प्रमुख कार्यक्षेत्रहरू, मध्य तथा दीर्घकालीन योजना, तथा मोबिलिटी सशक्तिकरणका लागि गर्न लागेको हस्तक्षेप कार्यक्रमहरू सार्वजनिक गर्ने बताइएको छ ।