काठमाडौं । धितोपत्र कारोबारका लागि डिम्याट खाता अनिवार्य भएसँगै आफूसँग भएका सम्पूर्ण धितोपत्र पनि डिम्याट खातामा जम्मा गर्नुपर्ने हन्छ । पछिल्लो तथ्याङ्कलाई हेर्दा सूचीकृत धितोपत्रमध्ये ३६ करोड ९८ लाख ७० हजार ७७८ कित्ता धितोपत्र डिम्याट खातामा जम्मा भएका छैनन् ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले दिएको जानकारी अनुसार चैत २४ गतेसम्म १४ अर्ब ३ करोड ७ लाख ८४ हजारभन्दा बढी कित्ता धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपनि १३ अर्ब ६६ करोड ९ लाख १३ हजारभन्दा बढी कित्ता धितोपत्र मात्र सम्बन्धित शेयरधनीहरुले हितग्राही खातामा जम्मा गरेका छन् ।
हितग्राही खातामा जम्मा भएका धितोपत्र मात्र कारोबारयोग्य हुने भएकाले हालसम्म पनि आफ्नो धितोपत्र हितग्राही खातामा जम्मा नगरेका सदस्यहरुलाई सम्बन्धित कम्पनीहरुले सूचना जारी गरेरै आग्रह गर्ने गरेका छन् । धितोपत्र कारोबारलाई प्रविधिमैत्री बनाउने उदेश्य सहित २०७३ साल साउन १ गतेदेखि डिम्याट खाता अनिवार्य गरिएको थियो ।
सार्वजनिक निष्कासनमा आएका धितोपत्र खरीदका लागि आवेदन दिँदा लगानीकर्ताले डिम्याट एकाउन्ट अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था उक्त समयमा गरिएको थियो । अनिवार्य डिम्याटको व्यवस्था उपत्यका लागि साउन १ गतेदेखि र उपत्यका वाहिरका लगानीकर्ताको लागि माघ १ गतेदेखि अनिवार्य रुपमा लागू गरिएको थियो । डिम्याट खाता खोल्नेको संख्या बढेसँगै क्रमिक रुपमा डिम्याटमा धितोपत्र जम्मा हुने क्रम पनि बढीरहेको जानकारी सिडिएससीले दिएको छ ।
२०७३ साल साउन १ गतेदेखिका सार्वजनिक निष्कासनका धितोपत्र हितग्राही खातामै जम्मा भएकाले त्यस अघि कागजी रुपमा जारी भएका धितोपत्र अझै डिम्याट हुन नसकेको भनाई सिडिएससीको छ ।
पुराना लगानीकर्ता अहिलेको जस्तो सक्रिय नभएको र कतिपयले आफ्नो शेयर प्रमाणपत्रनै नपाएकाले डिम्याट गर्न नसकेको बताउँछन् । पुराना लगानीकर्ता इन्द्रकृष्ण श्रेष्ठ पछिल्लो समय डिम्याटमै शेयर जम्मा हुने भएपनि सजिलो भएको बताउँछन् । पहिला पहिलाका कतिपय शेयर प्रमाणपत्र हराएकाले पुराना बिर्सेका शेयर कसरी डिम्याट गराउने भन्नेमा अन्योल रहेको भनाई श्रेष्ठको छ ।
सम्बन्धित कम्पनीहरुसँग रेकर्ड भए त्यस्ता शेयर अभौतिकीकरणका लागि शेयरधनीहरुलाई जानकारी गराई आवश्यक कागजात पुनः उपलब्ध गराउनुपर्ने माग लगानीकर्ता श्रेष्ठले गरेका छन् । डिम्याट खाता अनिवार्य भएसँगै पछिल्ला समय बोनस शेयर हितग्राही खातामै जम्मा हुने र नगद लाभांश हितग्राही खातामा उल्लेख बैंक खातामा जम्मा हुने व्यवस्था भएको छ । धितोपत्र कारोबारलाई सहज बनाइरहेको हितग्राही खाता करिब ६७ लाख खोलिएको तथ्याङ्क सिडिएससीले सार्वजनिक गरेको छ ।