काठमाडौं । सिडिएससी एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) मा नयाँ सञ्चालक समिति बनेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का नवनियुक्त सीईओ चूडामणि चापागाँईले सिडिएससीको अध्यक्षको रुपमा पद तथा गोपनियताको सपथ लिएका हुन ।
शुक्रवार सिडिएससीको सञ्चालक समितिका अध्यक्षको रुपमा चापागाईंसँगै नेपाल सरकार अर्थ मन्त्रालयको तर्फबाट दुई सञ्चालकले समेत सपथ लिएका छन् । अर्थमन्त्रालयको तर्फबाट सञ्चालक समितिको सदस्यमा मनोनीत भएका अर्थमन्त्रालयका उपसचिवद्वय केशव कुमार उप्रेती र देवानन्द काफ्लेले सञ्चालकको रुपमा सपथ लिएका हुन् ।
यससँगै सिडिएससीमा चापागाँईको अध्यक्षतामा चार सदस्यीय सञ्चालक समिति बनेको छ । अर्का सञ्चालकमा भने सिडिएससीकै प्रबन्ध सञ्चालक प्रविन पन्दाक रहेकी छिन् । कम्पनी सचिवमा भने सविना पुजारी रहेकी छिन् । अर्थमन्त्रालयबाट सिडिएससीको सञ्चालक समितिमा पहिलो पटक प्रतिनिधि पठाइएको हो । यस अघि सिडिएसमा नेप्सेको शतप्रतिशत शेयर लगानी रहेकोमा अब ४९ प्रतिशत शेयर नेपाल सरकार अर्थ मन्त्रालयको नाममा कायम गरिएको छ ।
सिडिएससीको गत पुस २८ गते सम्पन्न साधारणसभाले शेयर संरचना परिवर्तन सम्बन्धी प्रस्ताव पारित गरेको थियो । सिडिएससीको चुक्ता पुँजी ३० करोड रुपैयाँ रहेको छ । यस अघि नेप्सेको स्वामित्वमा सम्पूर्ण कित्ता शेयर रहेकोमा ३० करोड मध्ये १४ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर पुँजी नेपाल सरकार अर्थ मन्त्रालयको नाममा कायम गरिएको हो । हाल १५ करोड २८ लाख रुपैयाँ बराबरको शेयर मात्र नेप्सेको स्वामित्वमा कायम भएको छ । कुल शेयरमा नेपाल स्टक एक्सचेञ्जको ५० दशमलव ९३ प्रतिशत र अर्थ मन्त्रालयको ४९ दशमलव शून्य ६ प्रतिशत कायम भएको छ ।