काठमाडौं । नेशनल जिओग्राफिकले धेरै खर्च गर्ने (हाई इन्ड) पर्यटकलाई विश्व घुमाउने क्रममा ७८ जनाको एक टोली हाल भुटान र नेपाल भ्रमणमा ल्याएको छ । सामान्यतया नेपाललाई कम खर्च गर्ने विदेशी पर्यटकले गन्तव्य बनाए पनि नेशनल जिओग्राफिकको आयोजनामा उच्च खर्च गर्ने टोली शुक्रवार नेपाल आइपुगेको हो ।
नेशनल जिओग्राफिकसँगको सहकार्यमा यती होलिडेज प्रालिले ती पर्यटक नेपाल भित्त्याएको हो । स्टेभ लावट पोर्टर, लिन्डा जेम्स होल्मस र र्हेना म्याक्रिसवर्निकलगायत ७८ जनाको टोली विमान चार्टर गरेर नेपाल आई होटेल द्वारिकाज्मा बसेको यती होलिडेजका कार्यकारी निर्देशक हेमन्तराज कोलाक्षपतिले जानकारी दिए ।
उनका अनुसार उक्त टोली नेपाल आएर यहाँको गन्तव्य सूचीमा रहेको झन्डै ८० प्रतिशत ठाउँ घुमिसकेर भुटान गएको छ । उनीहरू सोमवार बिहान पुन: नेपाल आउने समय तालिका रहेको उनको भनाइ छ ।
‘दैनिक प्रतिपर्यटक झन्डै ५०० अमेरिकी डलर खर्च गरेका छन्,’ उनले भने । यस्तो समूह वर्षमा आठओटा आउने र त्यसमा औसत ७५ देखि ८५ सम्म सदस्य हुने कोलाक्षपतिले बताए । अराउन्ड वल्र्ड बाई प्राइभेट जेट भन्दै नेशनल जिओग्राफिकले आफ्नै विभिन्न क्षेत्रका विशेषज्ञ र अन्य हाई इन्ड पर्यटकलाई विश्व भ्रमणमा लैजाने गरेको छ । यसका लागि निश्चित शुल्क नेशनल जिओग्राफिकले यस्ता पर्यटकसँग लिने गर्छ ।
यतीले हरेक वर्ष अक्टोबरदेखि अप्रिलसम्मको सिजनमा नेशनल जिओग्राफिकबाट विभिन्न आठओटा समूहलाई नेपाल ल्याउने गरेको छ । यस क्रममा पछिल्लो समूह अप्रिल ४ तारीख (गत शुक्रवार) मा आइपुगेको हो । यसमा कम्पनीले भारतको मुम्बईस्थित एउटा ट्राभल्स कम्पनीसँग सहकार्य गर्छ । अमेरिकाको सिआटन कम्पनीले मुम्बईको भेन टुर्स इन्टरनेशनल ट्राभल्स प्रालिलाई नेपाल, भारत, भुटान, तिब्बत, श्रीलंका र माल्दिभ्स गरी पाँचओटा देशमा पर्यटक घुमाउने जिम्मा दिएको छ । भेन टुर्सको आधिकारिक वेबसाइट पनि यी पाँचओटा देशमा घुम्ने प्याकेज र जानकारी राखिएको देखिन्छ । भेन टुर्ससँगको ४ दशकको मित्रताले गर्दा यसरी हाई इन्ड पर्यटक चार्टर्ड उडानबाट ल्याउन सम्भव भएको कोलाक्षपतिले बताए ।
उनका अनुसार नेपालमा आएका हाई इन्ड पर्यटक नेशनल जिओग्राफिकका रिटायर्ड सदस्य हुन् । नेशनल जिओग्राफिकमा काम गरेर रिटायर्ड भएका कर्मचारीहरू घुम्न निस्किएका हुन् । नेपाल १/२ पटक घुमेका त्यस्ता सदस्य अहिले चीनको तिब्बतको सट्टा भुटान जाने गरेका छन् । उनीहरूले नेपाललाई ट्रान्जिट बनाएर भुटानकै जहाज चार्डर्ड गरी त्यता गएका हुन् ।
यती होलिडेजका अनुसार सोमवार (आज) बिहान भुटानबाट उनीहरू त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उत्रने कार्यक्रम छ । उनीहरू सोही दिन स्वदेश फिर्ता हुनेछन् । शुक्रवार नेपाल आएका उनीहरू शनिवार र आइतवार भुटान बसे । २२ देशमा घुम्ने उनीहरू एउटा देशमा १/२ दिन मात्रै बस्ने गर्छन् । पछि विकसित भएका देशमा मात्रै जाने उनीहरू भियतनाम, कम्बोडिया, भारतको आग्रा (ताजमहल हेर्न) मात्रै जाने गर्छन् ।
नेपालको ट्राभल कम्पनीले भने द्वारिकाज होटेल बुक गर्ने, स्थानीय पर्यटक गाडी, गाइडको व्यवस्था गरिदिएको हो । कोलाक्षपतिका अनुसार अक्टोबरमा २, नोभेम्बर र जनवरीमा १/१, फेब्रुअरीमा २ र मार्च र अप्रिलमा १/१ गरेर यसपटक ८ समूह नेपाल आएका छन् ।