काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आफ्नो कार्यकालका १०० दिनमा ५५ उपलब्धि हासिल भएको विवरण सार्वजनिक गरेका छन् ।
बिहीवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो कार्यकालको १०० दिनको उपलब्धि विवरण सार्वजनिक गरेका हुन् ।
१०० दिनका लागि १० ओटा कामका क्षेत्रका किटान गरिएकोमा ८ ओटा पूरा भएको र एउटा पूरा हुने चरणमा अन्तिम अवस्थामा रहेको जनाइएको छ ।
‘पुनःनिर्माणको जिम्मेवारीबाट सरकार पछि हट्दैन’
वर्षात् र बाढीको प्रकोपका कारण सिर्जित आपत्तकालीन सडक तथा यातायात व्यवस्थापनको कार्यमा लाग्नुपरेकाले सबै लक्ष्य पूरा गर्न कठिन भएको मन्त्री दाहालले उल्लेख गरे ।
वर्षा र बाढीका कारण क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि थप १५ अर्ब १६ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।
ती संरचना निर्माणका लागि विभिन्न दातृसंस्था तथा निकायहरूसँग छलफल भइरहेको समेत मन्त्री दाहालले बताए । उनले दातृनिकायहरूको मात्र भर नपरी मन्त्रालयले आफ्नै श्रोतबाट भए पनि पुनःनिर्माणलाई अघि बढाउने उनको भनाइ छ ।
नीतिगत र कानूनी कार्य प्राथमिकतामा
१०० दिनको अवधिमा सरकारको नीतिगत र कानूनी कार्यहरूलाई समेत प्राथमिकतामा राखेको मन्त्री दाहालले बताए । नीतिगत, सुशासन र कानूनी सुधारतर्फ १०० दिनको अवधिमा ७ उपलब्धि प्राप्त भएका छन् ।
राष्ट्रिय सडक सुरक्षा विधेयकको अवधारणापत्रमा सहमतिका लागि अर्थमन्त्रालयमा पठाउने, डिप्लोमा इन्जिनियरिङ परिषद गठन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा राय सहमतिका लागि अर्थमन्त्रालयमा पठाउने लगायतका काम यस अवधिमा भएका छन् ।
यस्तै, मन्त्रालयले गठन गरेको कार्यदलले ३ नीति, १० ऐन, १० नियमावली, १३ मापदण्ड, ४ निर्देशिका, ५ गुरुयोजना र ५ कार्यविधिलाई संशोधन वा नयाँ निर्माण गर्नु पर्ने गरी पहिचानसमेत गरेको छ ।