काठमाडौं । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिटिजन्स सुपर ३० म्युचुअल फण्डले भदौ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरणअनुसार फण्डले भदौ मसान्तसम्ममा रू. ५ करोड ६७ लाख नाफा कमाएको छ । यो नाफा साउन मसान्तको तुलनामा भने ६५ प्रतिशत कम हो । साउन मसान्तमा फण्डले रू. १६ करोड २५ लाख नाफा कमाएको थियो ।
भदौमा फण्डको आम्दानी घटेकाले नाफा प्रभावित भएको हो । साउन मसान्तमा फण्डको कुल आम्दानी रू. १६ करोड ४० लाख रहेकोमा भदौ मसान्तमा घटेर रू. ५ करोड ९६ लाखमा झरेको हो ।
नाफासँगै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) पनि साउनको तुलनामा भदौमा घटेको छ । साउन मसान्तमा फण्डको न्याभ १३ रुपैयाँ २१ पैसा रहेकोमा भदौ मसान्तमा ११ रुपैयाँ ८० मा झरेको छ ।
भदौ मसान्तसम्ममा फण्डले सूचीकृत धितोपत्रमा रू. ५६ करोड २४ लाख लगानी गरेको छ । यो लगानी साउन मसान्तमा रू. ७३ करोड १३ लाख थियो । यस आधारमा फण्डले भदौमा सूचीकृत शेयरमा लगानी घटाएको छ ।