काठमाडौं । भदौमा कुल ५७ करोड १९ लाख ६५ हजार कित्ता धितोपत्र कारोबार भएकोमा अपि पावरले सर्वाधिक हिस्सा ओगटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सार्वजनिक गरेको भदौमा भएको कारोबारको तथ्यांकलाई हेर्दा अपि पावरको सर्वाधिक १ करोड ८० लाख ६८ हजार कित्ता शेयर कारोबार भएको छ ।
जलविद्युत कम्पनीहरूमध्ये अपि पावर लगानीकर्ताको आकर्षणभित्र पर्ने कम्पनीहरूमध्येकै एक हो । यो कम्पनीले गत वर्षको मुनाफाबाट कुल ९ दशमलव ४७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । हाल कायम चुक्तापूँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार रुपैयाँको आधारमा कम्पनीले ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश पारितका लागि कम्पनीले कात्तिक १ गते वार्षिक साधारण सभा बोलाएको छ । सर्वाधिक कित्ता शेयर कारोबार भएको महीना अपि पावरको शेयरमूल्य अघिल्लो महिनाको तुलनामा ५६ रुपैयाँ ३० पैसाले घटेको छ । समग्र बजार घटेसँगै भदौमा अपि पावरको शेयर मूल्यमा समेत असार परेको हो ।
साउनको तुलनामा भदौमा धितोपत्र दोस्रो बजार ४२० अंकले घटेको छ । साउनको अन्तिम दिन ३ हजार दशमलव ८१ विन्दुमा रहेको नेप्से भदौको अन्तिम दिन २ हजार ५८० दशमलव ७६ विन्दुमा बन्द भएको हो ।
भदौमा कारोबार कित्ताका हिसाबमा जलविद्युत् कम्पनीहरूको बढी कारोबार भएको देखिन्छ । सर्वाधिक शेयर कारोबार गर्ने दश कम्पनीभित्र जलविद्युत् क्षेत्रका ६ कम्पनी छन् । सर्वाधिक दोस्रोमा अरुणभ्याली हाइड्रोपावरको १ करोड ४७ लाखभन्दा बढी कित्ता कारोबार भएको छ ।
त्यस्तै तेस्रोमा कुमारी बैंकको १ करोड ३५ लाखभन्दा बढी, चौथोमा हिमाल दोलखाको १ करोड २७ लाखभन्दा बढी, पाँचौंमा अपर तामाकोशीको १ करोड २४ लाखभन्दा बढी, छैठौंमा हाइड्रोईलेक्ट्रीसिटीको १ करोड १९ लाखभन्दा बढी, सातौंमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १ करोड १५ लाखभन्दा बढी, आठौंमा प्रभु बैंकको १ करोड ७ लाखभन्दा बढी, नवौंमा अरुण काबेली पावरको ९६ लाख ८१ हजार र दशौ नम्बमा सिंगटी हाइड्रोको ९२ लाख ५९ हजार कित्ता शेयर कारोबार भएको छ ।
भदौमा कम मूल्य भएका कम्पनीको शेयर कारोबारमा लगानीकर्ताको आकर्षण बढी रहेको देखिन्छ ।
भदौमा सर्वाधिक कित्ता शेयर कारोबार भएका १० कम्पनी
कम्पनीको नाम | शेयर कारोबार कित्ता |
अपि पावर | 18068 |
अरुणभ्याली हाइड्रोपावर | 14777 |
कुमारी बैंक | 13535 |
हिमाल दोलखा हाइड्रोपावर | 12736 |
अप्पर तामाकोशी हाइड्रोपावर | 12457 |
हाइड्रोईलेक्ट्रिीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट | 11984 |
नेपाल इन्फ्रास्ट्रक्चर बैंक | 11511 |
प्रभु बैंक | 10755 |
अरुण काबेली पावर | 9681 |
सिंगटी हाइड्रो | 9259 |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।