काठमाडौं । यो साता धितोपत्र दोस्रो बजार तीन कारोबार दिन मात्र खुल्यो । दुई दिन सार्वजनिक बिदाका कारण बन्द भएको नेप्से तीन कारोबार दिनमा ४ दशमलव १६ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन ७८ दशमलव ३१ अंकले बढेर बन्द भएको बजार यो साता निरन्तर तीन कारोबार दिननै घटेर बन्द भएको हो ।
गत साता पाँच कारोबार दिनमध्ये शुरुका चार कारोबार दिन निरन्तर घटेको बजार अन्तिम कारोबार दिन बढेको थियो ।
पछिल्लो १० कारोबार दिनमा बजार ९ दिन घटेको छ भने एक दिन मात्र बढेको नेप्सेको तथ्यांकले देखाउँछ । यो साता तीन कारोबार दिनमा मात्र नेप्से परिसूचक १११ दशमलव ७७ अंकले घटेको हो । गत साताको अन्तिम कारोबार दिन २ हजार ६८८ दशमलव ५३ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन भने २ हजार ५७६ दशमलव ७६ विन्दुमा बन्द भएको हो ।
करीब ३ महीना घटेर बढ्न थालेको बजार पछिल्लो समय गत साउन ३१ गते ३ हजार विन्दुमाथिसम्म पुगेको थियो । त्यो बेला बजार ३ हजार २०० को ऐतिहासिक विन्दुभन्दा माथि जानसक्ने विश्वास ब्रोकरहरूको थियो ।
वित्तीय प्रणालीमा पर्याप्त तरलता हुनु, निक्षेपको ब्याजदर घट्नु र लगानीकर्ता कर्जा लिएर अन्य क्षेत्रमा लगानी गर्न इच्छुक नभइरहेको अवस्थामा धितोपत्र बजारमै लगानी बढ्ने विश्वास स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटाको थियो । उनले उल्लेखित आधारलाई हेर्दा बजार अझै माथि जान सक्ने सम्भावना रहेको बताएका थिए । तर, लगानीकर्ताको विश्वास घट्दै जाँदा बजारमा कारोबार रकमसँगै नेप्से परिसूचक पनि निरन्तर घटिरहेको छ ।
यो साता ठूला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स ४ दशमलव ४७ प्रतिशत घटेको छ ।
दैनिक करीब ३० अर्बको कारोबार भएको बजारमा यो साता तीन दिनको कारोबारमा २३ अर्ब ३७ करोड ४ लाख रुपैयाँभन्दा बढीको ५ करोड ५८ लाख ६० हजारभन्दा बढी कित्ता धितोपत्र खरीदविक्री भएको छ । गत साताको तुलनामा यो साता कारोबार रकम १८ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीले र कारोबार कित्ता ४ करोड १३ लाख ९० हजारभन्दा बढीले घटेको हो । गत साता पाँच कारोबार दिनमा ४१ अर्ब ८२ करोड ७५ लाख रुपैयाँभन्दा बढीको ९ करोड ७२ लाख ५१ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो ।
गत साताको तुलनामा यो साता दुई दिन कारोबार कम भएपछि औसत कारोबार रकम र कित्ता पनि घटेको छ । गत साता औसतमा ८ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएकोमा यो साता औसतमा ७ अर्ब ७९ करोड रुपैयाँभन्दा बढीको १ करोड ८६ लाख २० हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । गत साताभन्दा यो साता औसतमा कारोबार रकम ५७ करोड ५३ लाख रुपैयाँभन्दा बढीले घटेको छ भने कारोबार कित्ता ८ लाख ३० हजारभन्दा बढीले कम भएको छ ।
बजार घटेसँगै कुल बजार पूँजीकरण ४० खर्ब ९७ अर्ब २५ करोड ३६ लाख रुपैयाँमा खुम्चिएको छ । गत साताको अन्तिम कारोबार दिन कुल बजार पूँजीकरण ४२ खर्ब ७४ अर्ब ९७ करोड ७५ लाख रुपैयाँ रहेको थियो । गत साताभन्दा यो साता कुल बजार पूँजीकरण १ खर्ब ७७ अर्ब ७२ करोड ३९ लाख रुपैयाँले घटेको हो ।
सातागत परिसूचकको तुलना
विवरण | यो साता | गत साता | फरक | फरक प्रतिशत |
नेप्से परिसूचक (अंक) | 2,576.76 | 2,688.53 | -111.77 | -4.16 |
सेन्सेटिभ इन्डेक्स (अंक) | 459.92 | 476.47 | -16.55 | -3.47 |
कारोबार रकम (रू. हजारमा) | 23,370,419.30 | 41,827,536.76 | -18,457,117.46 | -44.13 |
कारोबार कित्ता | 55,860,710 | 97,251,296 | -41,390,586 | -42.56 |
औसत कारोबार रकम (रू. हजारमा) | 7,790,139.77 | 8,365,507.35 | -575,367.58 | -6.88 |
औसत कारोबार कित्ता | 18,620,236.67 | 19,450,259.20 | -830,022.53 | -4.27 |
कुल बजार पूँजीकरण (रू. दश लाखमा) | 4,097,253.66 | 4,274,977.58 | -177,723.92 | -4.16 |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।
बैंकिङ समूहको परिसूचक सबैभन्दा कम घट्यो
यो साता तीन कारोबार दिनमात्र खुलेको बजारमा सबै समूहगत परिसूचक घटेका छन् । यो साता वाणिज्य समूहको परिसूचक सबैभन्दा कम १ दशमलव ७६ प्रतिशत घटेको छ । यस्तै, वित्त समूहको परिसूचक सबैभन्दा बढी ११ दशमलव ४५ प्रतिशत घटेको जानकारी नेप्सेले दिएको छ ।
नेप्सेका अनुसार यो साता होटल तथा पर्यटन समूहको परिसूचक ६ दशमलव २ प्रतिशत, लगानीको ५ दशमलव ७ प्रतिशत, लघुवित्तको ५ दशमलव ३ प्रतिशत, विकास बैंकको ५ दशमलव २९ प्रतिशत, अन्यको ५ दशमलव १३ प्रतिशत, जीवन बीमाको ४ दशमलव ९ प्रतिशत, उत्पादन तथा प्रशोधनको ४ दशमलव २८ प्रतिशत, व्यापारिकको ४ दशमलव २ प्रतिशत, जलविद्युतको ३ दशमलव ९ प्रतिशत, निर्जीवन बीमाको ३ दशमलव ८९ प्रतिशत र म्युचुअल फण्डको परिसूचक २ दशमलव ६ प्रतिशत घटेको हो । परिसूचकमा आएको घटबढलाई आधार मान्दा वित्त समूहले सर्वाधिक गुमाएको देखिन्छ ।
साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तन
विवरण | यो साता | गत साता | फरक प्रतिशत |
वित्त | 3,024.90 | 3,416.16 | -11.45 |
होटल तथा पर्यटन | 6,404.07 | 6,827.29 | -6.2 |
लगानी | 104.72 | 111.05 | -5.7 |
लघुवित्त | 4,885.11 | 5,158.59 | -5.3 |
विकास बैंक | 5,087.53 | 5,371.47 | -5.29 |
अन्य | 1,966.30 | 2,072.53 | -5.13 |
जीवन बीमा | 12,524.17 | 13,169.99 | -4.9 |
उत्पादन तथा प्रशोधन | 6,849.32 | 7,155.34 | -4.28 |
व्यापार | 3,600.78 | 3,758.63 | -4.2 |
जलविद्युत् | 3,190.70 | 3,320.33 | -3.9 |
निर्जीवन बीमा | 12,950.62 | 13,474.44 | -3.89 |
म्युचुअल फण्ड | 21 | 21.56 | -2.6 |
बैंकिङ्ग | 1,462.42 | 1,488.69 | -1.76 |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।