अहिलेसम्मको इतिहास हेर्दा जो जो भ्रष्टाचारलाई हटाउन मच्चिएर आए, उनीहरू अन्तत: आफै मक्किएर गायब भए । जाने तरीका भने सबैको आ–आफ्नै थियो । कोही तोप पड्काएर गए, कोही जाँचपडताल गराएर गए, कोही हल्ला मच्चाएर गए, कोही भ्रष्टाचार विरोधी महाअभियान चलाएर गए, अनि कोही दारु पिएर गए, ...अन्तत: सबै गए । तर भ्रष्टाचारज्यू उस्तै रहे, कहिल्यै नघट्नेगरी, नहट्नेगरी ।
यो संसारमा सबै कुरा क्षणभंगुर छन् भन्छन् । तर भ्रष्टाचार मात्र यस्तो चीज हो, जो सनातन छ, नित्य छ । अरू पछि परे पनि एक भ्रष्टाचारज्यू मात्र छन्, जो निरन्तर अघि नै बढ्दै गइरहनु भएको छ । थाहा छैन, किन मानिशहरू उहाँलाई हटाउने भन्दै उनको पछि लागिरहन्छन्, जबकि उनले नेपाली समाजको परम्परालाई पूर्ण इमानदारीसाथ पालना गर्नुभएको छ । देशको दिन दुई गुणा र रात चौगुना विकासको रहस्य पनि यही नै हो ।
जसले भ्रष्टाचारज्यूको विरोध गरिहिँड्छ, त्यो उसले आफू कमाउन नसकेको कुण्ठा मात्र हो । तपाईंलाई थाहा छ, यो दुनियाँमा कुण्ठित मानिशहरूको कमी छैन र यस्ता कुण्ठितहरूले अरू के नै गर्न सक्छन् र ! मर्दले खान्छ नामर्दले हिसाब राख्छ, यसले यति खायो उति खायो भनेर लेख्छ ।
कहिले भन्छन्, भ्रष्टाचार छानबिन गर । छानबिन गरेर रिपोर्ट पनि पठाइदियो भने भन्छन्, अब यसले गरेर हुन्न, त्यसलाई गर्न लगाऊ । ल, त्यसले पनि गरिदियो । त्यसपछि भन्छन्, अब अदालतमा प्रमाणित गर । अदालतले पनि ससम्मान दोषमुक्त गरिदिएपछि भन्छन्, आयभन्दा बढी सम्पत्तिको छानबिन गर ।
अरे यार, आयभन्दा बढीको कुनै कुरा हुन सक्छ ? जति आयो, त्यो नै आय त हो । अब जे आयो, त्यो आय होइन भने के हो ? र जब त्यो आय हो भने त्यसभन्दा बढीको कुरा कहाँबाट
आयो ? यस्तो सोझो तर्क पनि मानिशहरूले बुझ्दैनन् । अनि फेरि भन्छन्, अदालत नै गलत छ । उनीहरू मात्र सही छन्, बाँकी दुनियाँभरि सबै गलत । साँचो भन्ने हो भने भ्रष्टाचारज्यूलाई प्रमाणित गर्न खोज्नु भनेको छायाँलाई समात्न खोज्नुजस्तै हो ।
त्यसैले म त भन्छु, कुण्ठितहरूको कुरै नसुन्नुहोस् । सुन्नैपर्ने भए सन्तहरूको वाणी सुन्नुहोस्, ज्ञानीहरूको लेख पढ्नुहोस् र विशेषज्ञहरूको विचार सुन्नुहोस् । अब हेर्नुहोस्, विद्वान् अर्थशास्त्रीहरूको मान्यता छ कि भ्रष्टाचारज्यू वास्तवमा विकासजीका धेरै नजिकका नातेदार हुन् । भ्रष्टाचार नभाको भए प्रत्येक जिल्लामा इन्टरनेशनल एयरपोर्ट बन्ने हुन्थ्यो त ? सालका जंगल भएकै ठाउँमा शहर बसाल्ने प्लान त्यसै किन बन्थे त ?
यसको अर्थ भ्रष्टाचार र विकास भनेको आगो र धूँवाजस्तै हो । जस्तै जहाँ–जहाँ धूँवा हुन्छ, त्यहाँ–त्यहाँ आगो हुन्छ, ठीक त्यसैगरी जहाँ–जहाँ भ्रष्टाचारज्यू छन्, त्यहाँ–त्यहाँ विकासज्यू पनि छन् । कतै कतै विकास नभए पनि भ्रष्टाचारज्यू चैं छन् ।
कम्तीमा मेरा एक छिमेकी, जो एक सरकारी अफिसर छन्, लाई हेर्दै यो कुरा म दाबीका साथ भन्न सक्छु । छिमेकीजी जबसम्म आफ्ना तृतीय श्रेणीका कर्मचारी बुवाले सिकाएका आदर्शहरूमा चलिरहे, प्रशासनिक सेवामा अधिकृत भएर पनि बिचरा सुब्बाको जस्तो जीवन बिताइरहे । सरुवा पनि कुनै राम्रो ठाउँमा पाएनन् र सचिवालयमा फाइलहरूको ठेलो बनेरै बसिरहे ।
त्यो त उनकी पत्नीलाई धन्य भन्नुपर्छ, जसले ‘महँगी देवी’को हवाला दिँदै उनलाई जमाना र चलनबारे राम्रैसँग बुझाइन् । जति बेला छिमेकीजीले उनकी पत्नीले सिकाएको शिक्षा अनुसार यो चलन बुझेर भ्रष्टाचारज्यूको शरण लिए, त्यतिबेलादेखि उनको घरमा विकासजीको आउने जाने फ्रिक्वेन्सी यस्तो बढ्यो कि वर्ष नबित्दै छिमेकका सबै विकासधर्मी महापुरुषहरू उनीसँग ईष्र्याले जल्न थाले । उनीहरू भ्रष्टाचारको महाप्रतापलेपग्लन थाले ।
त्यसैले, यो कुरा म आफ्नो निजी अनुभवको आधारमा भन्छु, यसलाई कुनै दार्शनिक तर्क नसम्झनुहोस् । यस्तै धेरै अन्य जीवित प्रमाण पनि छन् मसँग, जहाँ आधुनिक विकासजीको प्रक्रिया भ्रष्टाचारजीको आगमनपछि मात्रै शुरू भएको थियो । नेप्सेजस्तै आउने–जाने, उक्लने–ओर्लने, अस्थिर र अलिकति मायावी प्रकारका ।
जे भए पनि प्रवचन, लेख, साक्षी वा विधिको आधारमा भ्रष्टाचारज्यूलाई देख्न र अझ प्रमाणित गर्न सकिन्छ भन्ने कुरा ठट्टा मात्रै हो । विश्वास नलागे देशमा बहुदल आएपछि भएका सबै भ्रष्टाचारका घटनाहरूलाई नियालेर हेर्नुस् । भ्रष्टाचारज्यू वास्तवमा केवल अनुभवगम्य हुन् । आफ्नो व्यक्तिगत अनुभव बाहेक अरू कुनै उपायबाट उनको अस्तित्वलाई चिन्न सकिँदैन । ठीक भगवान्जस्तै, जो कहीँ नभए पनि सबै ठाउँमा छन्, कण–कणमा व्याप्त छन् । ‘छैनन् पनि र सबै ठाउँमा छन् पनि...’ भन्ने खालका ।
उनी कसैलाई देखिँदैनन्, तर सबैको आँखाको ज्योति भने उनी नै हुन् । कसैको आँखामा उनी छैनन् भने त्यो आँखाको ज्योति के अर्थमा ज्योति हो भन्ने प्रश्न उठ्छ । यही कारण अख्तियार उनलाई खोज्न जान्छ, तर भेट्टाउन सक्दैन । प्रहरी र माननीय अदालतका विद्वान् न्यायाधीशहरू दशकौंसम्म घोत्लिएर पनि उनलाई भेट्टाउन असमर्थ रहन्छन् । सुनका भण्डार समाप्त हुन्छन्, तर ललितानिवास वा शेरादरबार वा गिरिबन्धुको बाँडफाँटमा भ्रष्टाचारज्यूको भूमिकाको छानबिन कहिल्यै पूरा हुँदैन ।
...र नेपालको कुनै पनि सरकारी कार्यालयमा उनीविना कुनै काम हुँदैन । तपाईं यसलाई यसरी पनि बुझ्न सक्नुहुन्छ कि हरेक मन्त्री–सचिवहरू गर्वका साथ घोषणा गर्छन् कि उनको विभागमा बिल्कुल भ्रष्टाचार छैन, र भ्रष्टाचारलाई तत्कालै समाप्त पार्ने दाबी पनि गर्छन् । कार्यालयहरूको बाहिर भ्रष्टाचारजीको विरोधमा ठूला–ठूला सूचनाहरू टाँसिएका पनि हुन्छन्, कानूनका किताबमा त डरलाग्दो खालका, लगभग राक्षसजस्ता धाराहरू लुकेका छन् । सबैले दाबी गर्छन् कि यसरी भ्रष्टाचारलाई अन्त्य गर्न सकिन्छ ।
यसैले जब कुनै मन्त्री वा अधिकारी आफ्नो विभागमा भ्रष्टाचार नभएको दाबी गर्छन् र उनलाई भ्रष्टाचारको खोजीमा मद्दत गर्नेहरूलाई पुरस्कार दिने घोषणा गर्छन्, मलाई भित्रैबाट ग्वाँ ग्वाँ रोउँ–रोउँ जस्तो लाग्छ भन्या । भ्रष्टाचारलाई बुझ्नका लागि बाह्य तर्क र इन्द्रियगम्य साधनहरूको प्रयोग गरेर कामै छैन । भ्रष्टाचारज्यूलाई बुझ्नका लागि त ‘आध्यात्मिक अन्तर्दृष्टि’ चाहिन्छ, जुन कमै मानिससँग हुन्छ । जसकोमा हुन्छ, उनी जान्दछन् कि जसले भ्रष्टाचारको सबैभन्दा ठूलो विरोध गर्नेहरू नै रेड कार्पेट बिछ्याएर उहाँलाई स्वागत गर्छन् । जस्तो केही बौद्धिक व्यक्तिहरू सेमिनारहरूमा अनीश्वरवादका बारेमा लामो प्रवचन दिने गर्छन् पछि घर फर्केपछि श्री सत्यनारायण व्रतकथा सुनिरहेका हुन्छन्, त्यसमा भाग पनि लिन्छन् र ग्रह शान्ति गराउँछन् । मन्दिर भत्काउँदै हिँड्ने अनि भैंसी पूजा गर्दै ग्रहशान्ति खोज्ने यस्तै महापुरुष त हुन् ।
त्यसैले तपाईं भ्रष्टाचार हटाउने प्रयास छोड्नुस् । भ्रष्टाचारज्यूको विरोधमा पछि लागेर के तपाईंले पाउनुहुन्छ ? यो दुनियाँमा जो उनको विरोध गर्छ, ऊ इतिहास बन्छ । र, जसले उनको पूजा गर्छ, ऊ ‘आधुनिक विकास’को हिस्सा बन्छ । त्यसैले, भोलिदेखि नै ‘भ्रष्टाचार हटाउने सपना’लाई सदाका लागि थन्क्याइदिनुस् । भ्रष्टाचारको विरोध गरेर जोकर किन बन्नुहुन्छ, बरु नोकर बन्नुस्, विकास जति सबै सोहोर्नुस् र भ्रष्टाचारज्यूलाई फूलमाला लगाइदिनुस् ।
किनकि, तपाईंभन्दा अघि पनि धेरै जोकर आए र गए, कोही गोजी भरेर गए, कोही जुत्ता खाएर । तपाईं चैं के खाने त ?