चितवन। चितवन राष्ट्रिय निकुञ्जमा भरतपुर भ्रमण वर्ष २०२४ का लागि तयारी थालिएको छ । फागुन १८ गतेदेखि शुरू हुने भरतपुर भ्रमण वर्षका लागि निकुञ्जसहित यससँग जोडिएका मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वनमा समेत तयारी शुरू गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश तिवारीका अनुसार मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वन, बाटुली पोखरी, किङ फिसर ताल, बीसहजारी तालमा सरसफाइको काम भइसकेको छ । ‘भरतपुर भ्रमण वर्षको मुख्य पर्यटकीय गन्तव्य निकुञ्ज हो । निकुञ्ज कार्यालयले यहाँ रहेका जीप सफारीको पुराना रूटमा पनि सरसफाइ गरिसकेको छ,’ तिवारीले भने । पर्यटकीय स्थलमा नक्सा (म्याप) राख्ने काम पनि गरिएको जानकारी उनले दिए ।
निकुञ्जभित्र रहेका ताल, पोखरी र घाँसे मैदानलाई व्यवस्थित बनाउने काम निकुञ्जको वार्षिक कार्यक्रम अनुसार अगाडि बढाइएको उनले बताए । मेघौली क्षेत्रका सामुदायिक वनका प्रवेशद्वार सजावटको काम गरिएको छ भने निकुञ्जको मुख्यालय कसरामा सरसफाइ तथा रङरोगन गरिएको छ । भ्रमण वर्षमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई स्वागत गर्ने व्यवस्था मिलाइएको छ ।
भ्रमण वर्षमा भरतपुर आउने प्रकृति पर्यटक (नेचर टुरिस्ट)का लागि निकुञ्जभित्र हुने पर्यटन गतिविधि सहज बनाइने भएको छ । चितवन राष्ट्रिय निकुञ्ज जीप तथा हात्ती सफारीका लागि प्रख्यात मानिन्छ ।
भरतपुर–६ देवनगरमा रहेको वन्यजन्तु उद्धार केन्द्रमा बाघ राख्न मिल्नेगरी ‘केज’ बनाइएको निकुञ्ज कार्यालयले बताएको छ । उद्धार केन्द्रकै कम्पाउण्डमा गैंडा राख्न मिल्नेगरी तारबारको काम पनि अहिले भइरहेको छ । निकुञ्ज घुम्न आउने पर्यटकले पाटे बाघ र गैंडा देख्न नपाएमा सहज तरीकाबाट देखाउने उद्देश्यले चिडियाघर शैलीमा उद्धार केन्द्र निर्माण गरिएको हो ।
‘निकुञ्जमा समय र परिस्थिति नमिलेमा वन्यजन्तु नदेख्ने सम्भावना रहन्छ । यस्तोमा पर्यटकलाई बाघ र गैंडा देख्न पाइएन भन्ने खिन्नता हुन सक्छ,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल पुर्जाले भने, ‘त्यस्तो नहोस् भन्न केजभित्र बाघ राख्ने तयारी गरिएको हो । फागुन पहिलो साता बाघलाई केजमा राख्ने निकुञ्जको तयारी छ ।’
निकुञ्जले प्रवेश टिकट डिजिटल बनाउने भएको छ । त्यसका लागि निकुञ्ज विभागलाई पत्राचार गरिएको छ । भ्रमण वर्षमा पर्यटकको चापमा वृद्धि हुने र टिकट काट्न असहज हुने भएकाले टिकट प्रणालीलाई अनलाइन बनाउन पहल भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत पुर्जाले जानकारी दिए ।