चालू आर्थिक वर्षको पहिलो चौमासमा सबैभन्दा बढी राजस्व मूल्य अभिवृद्धि कर (भ्याट) बाट असुली भएको छ । सो अवधिमा सरकारले भ्याटबाट करीब रू. २६ अर्ब २३ करोड राजस्व असुली गरेको अर्थमन्त्रालयका प्रवक्ता कृष्णप्रसाद देवकोटाले बताए । असुली भएको रकम लक्ष्यभन्दा ६ करोड ५४ लाखले बढी हो । उनले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सो रकम १८ दशमलव शून्य ४ प्रतिशतले बढी भएको पनि जानकारी दिए । देवकोटाका अनुसार अघिल्ला आवहरूमा पनि सबैभन्दा बढी राजस्व भ्याटबाटै असुल हुँदै आएको थियो ।
यसैगरी सरकारले समीक्षा अवधिमा रू. ७८ अर्ब ३ करोड कुल राजस्व सङ्कलन गरेकोमा रू. ७० अर्ब ४४ करोड २२ लाख करबाट र रू. ७ अर्ब ५९ करोड १० लाख गैरकरबाट सङ्कलन गरेको हो । कुल राजस्वमा कर राजस्वको प्रतिशत ९३ र गैरकर राजस्वको प्रतिशत ७ रहेको छ । गत आवको पहिलो चौमासको तुलनामा चालू आवको सोही अवधिको राजस्व वृद्धि दर ३० दशमलव २४ प्रतिशत रहेको छ । असुली भएको राजस्व लक्ष्यभन्दा १० दशमलव ६६ प्रतिशत बढी भएको देवकोटाले बताए । सरकारले गत आवमा सङ्कलित राजस्वभन्दा १८ दशमलव ५ प्रतिशत बढी राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको छ ।
वर्ष ८, अंक ६९, मंगलवार ११ मङ्सिर, २०६९