काठमाडौं । समयसँगै मानिसको आवश्यकता पनि बढ्दो छ । आधिकांश शहरी क्षेत्रमा सुविधायोग्य साधनहरूको उपभोग गर्ने चलन बढिरहेको छ । अहिलेको समयमा सुविधाका लागि सवारी साधन आवश्यक वस्तुमा गनिन थालेको छ । र, त्यसको सुरक्षाका लागि सो साधनको बीमा गर्ने कार्य पनि अनिवार्य रहेको छ । सवारी साधनका साथै, सवारी चालक तथा यात्रुहरूको पनि बीमा गर्नु अनिवार्य भएको छ । बीमा गरेबापत बीमा गरेको निश्चित समयसम्म केही हानि नेक्सानी भएमा उक्त बीमा कम्पनीले बीमितलाई आर्थिक सुरक्षा प्रदान गर्छ । यदि आगलागी, चोरी, दुर्घटना, प्राकृतिक प्रकोपजस्ता कार्यले साधनमा भइपरिआएमा कम्पनीले उक्त साधनको आर्थिक भार बेहोर्छ । साथै, बीमामार्फत सवारी साधनको नाममा बीमितले आर्थिक बचत पनि गर्न सक्छन् ।
मोटर बीमा अनिवार्य भए पनि जीवन बीमालाई सरकारले अनिवार्य गराएको छैन । मानिसहरूमा बीमाको महत्त्व र सुविधाबारे ज्ञान नभएकाले पनि जीवन बीमा कम भएको हो । केही महीनायता जीवन बीमा कम्पनीहरूले घरदैलो कार्यक्रम गर्दै आएका छन् । सो कार्यक्रमले केही बीमाबारे साक्षरता बढ्ने र जीवन बीमा गर्नेको सङ्ख्या बढ्ने आशा कम्पनीहरूले गरेका छन् ।
मर्ने बाँच्ने भनेको कुनै निश्चयको कुरा नभएकाले यस्तो स्थितिबाट सुरक्षित हुन नै आज जीवन बीमाको चलन आएको हो । बीमा नै एक त्यस्तो माध्यम हो जसले अनिश्चिततालाई निश्चिततामा परिणत गर्दछ । परिवारको कमाउने मुख्य व्यक्तिको मृत्यु भएमा निजको परिवारले ठूलो आर्थिक सङ्कटको सामना गर्नुपर्ने हुन्छ । जोखीम भन्नासाथ आर्थिक क्षति हुने वा नहुने अवस्था भन्ने बुझिन्छ । र, जीवन बीमा गराएर यस किसिमको आर्थिक क्षतिविरूद्ध परिवारलाई सुरक्षित राख्न सकिन्छ । त्यसैले पनि आजको समयमा जीवन बीमाको एक आफ्नै महत्त्वपूर्ण भूमिका रहेको छ । यसबाहेक थोरैथोरै बीमा शुल्क जम्मा गर्दै अवधि भुक्तानीमा एकमुष्ट रकम प्राप्त हुने हुँदा बचतका कारणले पनि जीवन बीमा महत्त्वपूर्ण देखिएको हो ।
जीवन बीमा गर्ने व्यक्तिले लगातार २ वर्षसम्म बीमा शुल्क भुक्तानी गरेमा बीमालेखलाई धितोमा राखी ऋण दिने व्यवस्था छ । ऋण लिन पाउने रकमको हद सम्पूर्ण मूल्यको बढीमा ९० प्रतिशतसम्म हुन आउनेलाई कम्पनीले रकम प्रदान गर्ने गर्दछ । जीवन बीमाको अर्को महत्त्व भन्नुपर्दा बीमित, जीवन बीमा योजनाको अवधिसम्म जीवितै रहेमा निजले र सो अवधिभित्र निजको मृत्यु भएमा निजले इच्छाएको व्यक्ति वा बीमा ऐनले निर्धारण गरेको सबभन्दा नजीकको हकवालाले बीमाको रकम प्राप्त गर्न सक्छ । त्यसैगरी, जीवन बीमा गर्नुको अर्को महत्त्व के पनि हो भने आयकर ऐनबमोजिम जीवन बीमा कम्पनीमा जीवन बीमा गरेमा आयकरमा समेत छूट प्राप्त गर्न सकिने प्रावधान रहेको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.