काठमाडौं । बिमस्टेक राष्ट्रहरूको कृषि मन्त्रीस्तरीय तेस्रो बैठक बुधवार काठमाडौंमा सम्पन्न भएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा भएको बैठकमा भारत र भुटानका मन्त्रीहरूको भौतिक उपस्थिति थियो भने बङ्गलादेश, म्यानमार र श्रीलङ्काका मन्त्रीहरूले भर्चुअल माध्यमबाट सहभागिता जनाएका थिए । साथै बैठकमा थाइल्याण्डका उपस्थायी सचिवले सहभागिता जनाएका थिए ।
बैठकमा क्षेत्रीय कृषि पशुपन्छी तथा मत्स्य क्षेत्रको सहकार्यलाई प्रवद्र्धन गर्ने र यस क्षेत्रका कृषि सम्बद्ध मुख्य चुनौतीहरूको समाधान गर्ने विषयमा छलफल भएको थियो ।
बैठकले बिमस्टेक राष्ट्रका कृषि क्षेत्रका उच्च अधिकारीहरूको बैठकमा छलफल भएका एजेण्डाहरूलाई अनुमोदन गरेको छ ।
बिमस्टेक राष्ट्रका कृषि क्षेत्रका उच्च अधिकारीहरूको बैठक गत मंगलवार सम्पन्न भएको थियो । उक्त बैठक कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माको अध्यक्षतामा भएको थियो ।
यस अवसरमा बिमस्टेक राष्ट्रहरूमा कृषि क्षेत्रमा भएका गरेका कार्यक्रमहरूको कार्यान्वयन अवस्थाको समीक्षा गर्दै बिमस्टेक कृषि क्षेत्रको सहकार्यको कार्ययोजना २०२३(२०२७ को कार्यान्वयनको प्रगति समीक्षा गरिएको थियो ।
बिमस्टेक राष्ट्रहरूका कृषि क्षेत्रका उच्च अधिकारीहरूको बैठकले कृषि क्षेत्रको भावी लक्ष्य र आगामी योजनाहरूबारे छलफल गरेको थियो ।
उक्त बैठकमा बिमस्टेक राष्ट्रहरूमा क्षेत्रीय खाद्य भण्डारको स्थापना र क्षेत्रीय बीउ भण्डार स्थापना गर्ने विषयमा सहमति भएको छ । साथै क्षेत्रीय कृषि व्यापारको प्रवद्र्धनका विषयमा भएको सहमतिका अतिरिक्त सदस्य राष्ट्रको कृषि क्षेत्रमा क्षमता विकासका लागि समेत विशेष पहल गर्ने विषयमा सहमति भएको छ ।
कृषि क्षेत्रमा नवप्रवर्तनलाई प्रवर्द्धन गर्नका लागि बिमस्टेक सेन्टर अफ एक्सिलेन्स र कृषि विकासमा डिजिटल सार्वजनिक पूर्वाधार स्थापनाका लागि सदस्य राष्ट्र भारतबाट अवधारणा प्रस्तुत भएको थियो । उक्त बैठकमा बिमस्टेक पशुपन्छी तथा मत्स्यपालन क्षेत्रमा सहकार्यको लागि नयाँ कार्ययोजनाको अनुमोदन गरिएको छ ।
साथै बैठकमा कृषि क्षेत्रका विकासका कार्ययोजना अनुसार सम्भाव्य क्रियाकलापहरूको विषयमा समेत छलफल गरिएको थियो ।