काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बजार अनुगमनका लागि जनशक्ति अभाव रहेको बताएका छन् ।
शुक्रवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र उपभोक्ता हित संरक्षण मञ्च नेपालले गरेको 'व्यवसाय र उपभोक्ताको मानवअधिकार, शीघ्र र सुलभ न्यायका लागि उपभोक्ता अदालत' विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले उपभोक्ता संरक्षण ऐनले बजार अनुगमनको व्यवस्था गरेको भए पनि कार्यान्वयनका लागि जनशक्ति अभाव भएको बताएका हुन् ।
जनशक्ति अभावका कारण पर्याप्त बजार अनुगमनलगायत अन्य थ्रुपै कामहरू पनि गर्न नसकिएको उनको भनाइ छ । उपभोक्ता अदालत गठनपछि यस्ता कामहरूलाई थप प्रभावकारी बनाउने उनले विश्वास व्यक्त गरे । उपत्यकाका तीन जिल्लालाई लक्षित गरेर भोलिदेखि उपभोक्ता अदालत उद्घाटन हुँदैछ ।
कुनै पनि सामान खरीद गर्दा उपभोक्ताले बिल नमाग्ने कारणले पनि समस्या भएको उनले बताए । अदालतबाट हुने फैसलाको नजीरका कारण उपभोक्ता ठगिने क्रम घट्ने मन्त्री भण्डारीको विश्वास छ ।