काठमाडौं । एक महीनामा नेप्से परिसूचक ४ दशमलव ६७ प्रतिशत घटेको छ । माघ ३ गते नेप्से परिसूचक २ हजार १६३ दशमलव ०६ विन्दुमा रहेकोमा फागुन ३ गते २ हजार ६२ दशमलव ०३ विन्दुमा झरेको हो ।
बजार घट्दा पनि जलविद्युत् समूहको शेयरमा लगानीकर्ताको आकर्षण कायमै छ । एक महीनाको तथ्यांकलाई हेर्दा १३ समूहगत परिसूचकमध्ये अन्य समूह र जलविद्युत् समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । हाइड्रोपावर समूहको परिसूचक माघ ३ गते २ हजार ६७३ दशमलव १७ रहेकोमा फागुन ३ गते बढेर २ हजार ७०३ दशमलव ५ विन्दुमा पुगेको हो ।
अरु सेक्टरका कम्पनीको जस्तो धेरै पूँजी जलविद्युत् कम्पनीको छैन । नयाँ जलविद्युत् कम्पनीले २० देखि ३० प्रतिशतसम्म शेयर निष्कासन गरेका छन्, बाँकी संस्थापकको होल्ड भएको हुन्छ । यी कारणले गर्दा जलविद्युत्को शेयरमा लगानीकर्ताको आकर्षण देखिएको जानकार बताउँछन् ।
पछिल्लो समय लगानीकर्ता दीर्घकालीन लगानीभन्दा अल्पकालीन लगानी गरिरहेका हुन्छन् । अल्पकालीन लगानीमा लगानीकर्ताको रोजाइ कम पूँजी भएको कम्पनीमा हुन्छ । सोही कारण पनि लगानीकर्ताको रोजाइमा जलविद्युत् कम्पनीको शेयर परेको जानकार बताउँछन् ।
जलविद्युत् कम्पनीले कर्जा तिर्न हकप्रद शेयर जारी गर्न सक्ने व्यवस्था विद्युत् नियमन आयोगले गरेको छ । सोही कारण धेरैजसो जलविद्युत् कम्पनीले हकप्रद शेयर निष्कासन गर्न लागेका छन् । यस कारण पनि लगानीकर्ताको आकर्षण जलविद्युत् कम्पनीको शेयरमा परेको जानकारको बुझाइ छ ।
पछिल्लो एक महीनामा बैंकिङ्ग समूहका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो अवधिमा यस समूहको परिसूचक ८ दशमलव ३७ प्रतिशत घटेको छ । माघ ३ गते यस समूहको परिसूचक १ हजार २१६ दशमलव ०८ विन्दुमा रहेकोमा फागुन ३ गते बिहीवार घटेर १ हजार ११४ दशमलव २७ विन्दुमा झरेको हो । यस समूहका कम्पनीको भोल्यूम बढी भएका कारण र पछिल्लो समय प्रतिफल घट्दै घएकाले लगानीकर्ताको आकर्षण नपरेको जानकार बताउँछन् ।
एक महीनामा परिसूचक सर्वाधिक घट्ने सूचीमा दोस्रोमा लघुवित्त समूह छ । लघुवित्तको परिसूचक ७ दशमलव ३६ प्रतिशत घटेको छ । माघ ३ गते यस समूहको परिसूचक ३ हजार ९६३ दशमलव ८१ विन्दुमा रहेकोमा फागुन ३ गते घटेर ३ हजार ६७१ दशमलव ९६ विन्दुमा झरेको छ ।
नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीलाई १५ प्रतिशतभन्दा बढी लाभांश प्रस्ताव गर्दा ९५ प्रतिशतसम्म विभिन्न कोषमा छुट्याउनु पर्ने प्रावधान ल्याएसँगै शेयर मूल्य ओरालो लागेको हो ।
यसो त चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासमा अधिकांश लघुवित्त कम्पनीको खराब कर्जा बढेको छ भने केही कम्पनी नोक्सानीमा छन् । त्यस्तै गत आवको मुनाफाबाट यस वर्ष धेरै कम्पनीले लाभांश नदिने निर्णय गरेका छन् । यही कारण लघुवित्त कम्पनीको शेयर मूल्य ओरालो लागेको जानकार बताउँछन् ।
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।