काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष सन्तोष श्रेष्ठले सपथ लिएका छन् । मंगलवार साझ अर्थमन्त्रालयमा अर्थमन्त्री विष्णु पौडेलले श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराएका हुन । पद तथा गोपनियताको सपथ लिएसँगै बुधवारदेखि श्रेष्ठले बोर्डको कार्यभार सम्हाल्नेछन् ।
करिब ११ महिनापछि बोर्डले नेतृत्व पाउने भएको छ । निकै चुनौति रहेको अवस्थामा आफूले बोर्ड अध्यक्षको जिम्मेवारी पाएको र त्यसका लागि आफू पूर्ण रुपमा तयार रहेको अध्यक्ष श्रेष्ठले बताएका छन् । आम लगानीकर्ताको हितलाई प्रमुख प्राथमिकतामा राखेका अध्यक्ष श्रेष्ठले सबैभन्दा पहिला लामो समयदेखि अडकिएर बसेका पूँजीबजारका लागि आवश्यक कामलाई अघि बढाउने उल्लेख गरे । पूँजीबजारलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यका साथ काम गर्ने बताएका अध्यक्ष श्रेष्ठले प्राथमिकताका आधारमा अल्पकालिन , मध्यकालिन र दीर्घकालिन हिसाबमा काम अघि बढाउने प्रष्ट पारे ।
सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई आगामी चार वर्षे कार्यकालका लागि बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । अर्थमन्त्री पौडेलले अध्यक्ष श्रेष्ठलाई सपथ ग्रहण गराएपछि सरकारले प्रतिस्पर्धाका आधारमा योग्य उमेद्वारलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको बताए । बजारमा अध्यक्ष नियुक्ति प्रक्रियाका सम्बन्धमा आएका टिकाटिप्पणीलाई श्रेष्ठले आगामी दिनमा काम गरेर प्रष्ट्याउने अर्थमन्त्री पौडेलले उल्लेख गरे ।
बोर्ड अध्यक्ष पदका लागि श्रेष्ठसँगै अन्तिम पाँच जनाको प्रतिस्पर्धामा हाल बोर्डकै कार्यकारी निर्देशकद्वय डा. नवराज अधिकारी, मुक्ति श्रेष्ठ, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र साविक बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जिवी चापागाईँ रहेका थिए । यी मध्ये चिरञ्जिवी चापागाईँ भने कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्तामा सहभागी भएनन् । चार जनाको कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ताका आधारमा बोर्ड अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सोमवार श्रेष्ठसँगै बोर्डका कार्यकारी निर्देशकद्वय डा. नवराज अधिकारी र मुक्ति श्रेष्ठको नाम सरकार समक्ष सिफारिस गरेको थियो ।