काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक १ दशमलव २४ प्रतिशत बढेर पुन २७ सय विन्दु माथि बन्द भएको छ । नेप्से २ हजार २७१६ दशमलव ६६ विन्दुमा पुगेको हो । नेपाल धितोपत्र बोर्ड सेबोनले झण्डै ११ महिनापछि नयाँ नेतृत्व पाएसँगै शेयर बजारका लगानीकर्ताको मनोबल बढ्दा नेप्से पुनः सकारात्मक लयमा फर्किएको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले धितोपत्र बोर्डको नयाँ अध्यक्षमा सन्तोष नारायण श्रेष्ठलाई नियुक्त गरेको हो ।
सेबोनले नयाँ नेतृत्व पाएपछि लामो समयसम्म रोकिएका बजार विकासका कामहरू अगाडि बढ्ने विश्वासमा लगानीकर्ता रहेका छन् । सोही कारण पनि मंगलवार शेयर बजारमा सकारात्मक प्रभाव परेको लगानीकर्ता बताउँछन् ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ९५ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव २८ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ९९ प्रतिशत वृद्धि भएको छ । ३१२ धितोपत्रको १ करोड ४२ लाख ९२ हजार ७४२ कित्ता शेयर ७५ हजार ५७२ पटकमा रू. ७ अर्ब ४४ करोड बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका धितोपत्र मध्ये तीन धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्पोट लघुवित्त वित्तीय संस्था, युनाइटेड इदी मार्दी आरवी हाइड्रोपावर र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । सर्पोट लघुवित्तको शेयर मूल्य रू. २ हजार ७५०, युनाइटेड इदी मार्दीको रू. ५८७ दशमलव ४० र कुथेली बुखरी स्मल हाइड्रोपावरको रू. २ हजार ७९२ दशमलव दशमलव ९० पुगेको छ ।
मंगलवार थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ३२ दशमलव ३० मा झरेको छ । त्यस्तै दोस्रोमा कर्णाली डेभलपमेन्ट बैंकको शेयर मूल्य ८ दशमलव ४५ प्रतिशत घटेर रू. ७६९ कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा नेपाल फाइनान्स कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. ४५ करोड ७८ लाख बराबरको भएको हो। शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ५५० कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा ङादी ग्रुप पावर कम्पनीको रू. ३३ करोड ६ लाख बराबरको कारोबार भएको हो ।
कारोबारमा आएका १३ समूहगत सूचक सबै बढेका छन् । सबैभन्दा बढी हाइड्रोपावर समूहको सूचक १ दशमलव ९७ प्रतिशत वृद्धि भएको छ । त्यस्तै अन्य समूहको १ दशमलव ६८ प्रतिशत, वित्त समूहको १ दशमलव ५१ प्रतिशत र ब्यापार समूहको १ दशमलव २९ प्रतिशत वृद्धि भएको छ ।