काठमाडौं । आर्थिक मन्दीको असरका कारण पछिल्लो समय नेपालमा पेट्रोलियम पदार्थ आयात निरन्तर घट्दै गएको देखिएको छ । भन्सार विभागको तथ्यांकले केही वर्षयता मुलुकमा पेट्रोलियम पदार्थको आयात घटेको देखाएको हो ।
विभागको तथ्यांकले विषेशगरी आर्थिक वर्ष (आव) २०७८/७९ देखि पेट्रोलियम पदार्थको आयात घटेको देखाउँछ । उक्त आवमा नेपालमा ७१ अर्ब ३८ करोड रुपैयाँको पेट्रोल, १ खर्ब ६८ अर्ब २३ करोड रुपैयाँको डिजेल र १ अर्ब ६८ करोड रुपैयाँको मट्टीतेल आयात भएको देखिन्छ ।
आव २०८०/८१ मा आइपुग्दा पेट्रोल आयात घटेर ६८ अर्ब १० करोड रुपैयाँमा सीमित भएको छ । डिजेल आयात १ खर्ब ४३ अर्ब ९८ करोड रुपैयाँमा झरेको छ । मट्टीतेल आयात पनि १ अर्ब ३३ करोडमा खुम्चिएको छ ।
आर्थिक मन्दीको असरले गर्दा उद्योगधन्दा, कलकारखाना पूर्ण रूपमा चल्न नसक्दा पछिल्ला वर्षमा पेट्रोलियम पदार्थ आयात निरन्तर जसो घट्दै गएको नेपाल आयल निगमका उपनिर्देशक मनोज ठाकुरले आर्थिक अभियानलाई बताए । ठाकुरका अनुसार यस्ता वस्तुको आयात वा खपत कम हुनुमा मन्दीको असरका कारण विकास निर्माणका काममा आएको कमीको हात छ ।
‘अर्को कुरा अहिले नेपालमा विद्युत् उत्पादन बढेसँगै लोडशेडिङ पूर्ण रूपमा हटेको छ, जसले गर्दा उपभोक्ताले पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन प्रयोग घटाएका छन् । नेपालमा पछिल्लो समय बिजुली गाडीको प्रयोग बढेसँगै पेट्रोल खपत कम भइरहेको छ । साथै उद्योगमा पनि बिजुली खपत बढ्न थालेको छ,’ उनले भने । हुन पनि यसअघि गत भदौमा सम्पन्न नाडा अटो सो–२०२४ मेलामा भएका गाडी बुकिङमध्ये करीब ७० प्रतिशत विद्युतीय गाडी (ईभी) थिए ।
विभागका अनुसार चालू आवको पहिलो ४ महीनामा नेपालमा ८ अर्ब ९८ करोड रुपैयाँको ईभी आयात भएका छन् । गत आवको सोही अवधिमा ७ अर्ब २६ करोड रुपैयाँको ईभी नेपाल भित्रिएका थिए ।
बिजुली खपत बढ्दा पेट्रोलियम पदार्थ आयातमा विदेशिने रकम जोगिएकाले आयात घट्नु नेपाली अर्थतन्त्रका लागि सुखद रहेको ठाकुरले बताए । नेपालमा पेट्रोलको भाउ कम हुँदा भारतीय सीमाक्षेत्रका गाडी इन्धन भर्न यता आउँछन् । भारतमा सस्तो हुँदा यताका गाडी उता जान्छन् । अहिले नेपालको तुलनामा भारतमा इन्धन सस्तो रहेकाले आयातमा असर परेको ठाकुरको भनाइ छ ।
भन्सार विभागको तथ्यांकअनुसार आव २०८०/८१ को साउनदेखि कात्तिकसम्म २२ अर्ब ८७ करोड रुपैयाँको पेट्रोल आयात भएकोमा चालू आवको सोही अवधिमा २१ अर्ब ५६ करोड रुपैयाँको मात्रै आयात भएको छ ।