काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को प्रसारण अधिकार भारतीय टेलिभिजन च्यानल स्टार स्पोर्ट्सलाई दिएको सन्दर्भमा विज्ञापन बोर्डले सोधेको स्पष्टीकरणको जवाफ दिन क्यानले ढिलाइ गरेको छ ।
विज्ञापन (नियमन गर्ने) ऐन २०७६ को दफा ६ अनुसार नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्नेछ । उक्त ऐन २०७७ सालबाट लागू भइसकेको छ । यस विषयलाई लिएर बोर्डले यो कानूनी प्रावधान पालना भएको छ कि छैन भनी गत मंगलवार क्यानसँग जवाफ मागेको थियो ।
तर, उक्त म्याद मंगलवार सकिँदासम्म क्यानले कुनै जवाफ नदिएको बोर्डका अनुगमन तथा मूल्यांकन शाखा प्रमुख कुमारीतारा घिमिरेले बताइन् ।
उनका अनुसार विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ६ मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने कानूनी प्रावधान सम्झाउँदै बोर्डले क्यानलाई स्पष्टीकरण सोधेको हो ।
‘विदेशी कम्पनीमार्फत स्टार स्पोटर्स च्यानलबाट प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था गर्दा उल्लिखित कानूनी प्रावधानबमोजिम गरिएको छ वा छैन भनी जवाफ मागेका हौं,’ उनले भनिन् ।
विज्ञापन बोर्डका अनुसार प्रत्यक्ष प्रसारणको व्यवस्था गर्दा खरीद सम्झौता वा समझदारीपत्रमा हस्ताक्षर भएको भए त्यसको प्रमाणित प्रतिसमेत संलग्न गरी विस्तृत बेहोरासहित ७ दिनभित्र जवाफ पेश गर्न भनिएको थियो ।
नेपाल क्रिकेट संघका बोर्ड सदस्य चुम्बी लामाले विज्ञापन बोर्डलाई जवाफ पठाउनेबारे अहिलेसम्म छलफलै नभएको बताए । ‘प्रतियोगिताको लागि हाम्रो तयारी अरू धेरै गर्नु छ,’ उनले भने, ‘जवाफ आवश्यक परे पठाइन्छ ।’
क्लिन फिडसम्बन्धी कानूनी प्रावधानको पालना गरेरै स्टार स्पोर्ट्ससँग सम्झौता गरिएको उनले जिकिर गरे । ‘क्लिन फिडसम्बन्धी कानूनअनुसार विज्ञापनरहित प्रसारण गर्न पनि सकिनेछ । स्पोन्सरहरूले अनिवार्य रूपमा विज्ञापन देखाउनुपर्छ भनेका छैनन्,’ उनले भने ।
क्यान अधिकारीहरूका अनुसार नेपालको क्रिकेटलाई खेलकुदको अन्तरराष्ट्रिय मानचित्रमा पुर्याउन स्टार स्पोटर््स जस्तो इन्डियन प्रिमियर लिगलगायत संसारका लोकप्रिय खेल प्रतियोगिता प्रसारण गर्ने च्यानलसँग सम्झौता महत्त्वपूर्ण हुन्छ ।
यसअघि नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल र मिडिया अलाइन्सले नेपाल क्रिकेट संघले नेपालको कानूनले अनिवार्य गरेको सार्वजनिक खरीद ऐन र खेलकुद ऐनलाई उल्लंघन गरेको आरोप लगाएको थियो ।
गत मंगलवार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले सम्झौतालाई अवैधानिक भनेका थिए । त्यसलगत्तै विज्ञापन बोर्डले क्यानलाई पत्र लेखेको थियो । यही मङ्सिर १५ गतेदेखि एनपीएलका खेल हुँदै छन् । सबै खेल काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछन् । पहिलो संस्करणको एनपीएलमा आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।