काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए-नेपाल) ले २९७ किलोमिटर लामो लप्सीफेदी–रातमाटे–नयाँ हेटौंडा, रातमाटे–नयाँ दमौली, र नयाँ दमौली–नयाँ बुटवल। विद्युत् प्रसारण लाइन निर्माणका लागि बोलपत्र पुनः आह्वान गरेको छ।
यसअघि गरिएको बोलपत्रमा अनुमानित लागतको तुलनामा भन्दा बढी बोलपत्रदाताहरुले लागत प्रस्ताव गरेको भन्दै ठेक्का रद्द गरिएको थियो । डिजाइनमा सुधार, टावर स्थानहरूको पहुँच सुधार, र बोलपत्रदाताहरूको प्रतिक्रियाका आधारमा व्यावसायिक सर्तहरूमा परिवर्तन गरिएको एमसीए नेपालले जनाएको छ ।
तीन खण्डमा विभाजन गरिएको परियोजनाको बोलपत्र बुझाउने अन्तिम म्याद २०२५ जनवरी ३० (माघ १७) तोकिएको छ ।
एमसीए नेपालले ३१५ किलोमिटर लामो प्रसारणलाइन परियोजनालाई चार भागमा बाँडेर निर्माण प्रक्रिया अघि बढाउँदैछ । त्यसमध्ये न्यु बुटवल–गोरखपुर प्रसारणलाइनको नेपालपट्टिको १८ किलोमिटर खण्डको ठेक्का सम्झौता भइसकेको छ ।
१ करोड २४ लाख अमेरिकी डलरमा सो प्रसारण लाइन निर्माण गर्न ट्रान्सरेल लाइटिङ लिमिटेडसँग १४ भदौ ०८१ मा सम्झौता भएको थियो । उक्त प्रसारण लाइन २१ महिनाको अवधिमा निर्माण गरिने एमसीसीले जनाएको छ ।
प्रसारणलाइनको पहिलो लटमा लप्सीफेदी–रातमाटे–न्यू हेटौंडा खण्ड पर्छ । दोस्रो लटमा रातमाटे–न्यू दमौली खण्ड र तेस्रो लटअन्तर्गत न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन तोकिएको छ । यसअघि गत वर्षको ८ जेठमा प्रसारण लाइनलाई तीन लटमा बाँडेर टेन्डर आह्वान भएकोमा निर्माणको प्रस्ताव गर्ने कम्पनीमध्ये पाँचवटा प्राविधिक रुपमा योग्य ठहरिएका थिए ।