काठमाडौं। पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेको एक वर्ष नपुग्दै अर्काे प्रसिद्ध गन्तव्य चितवनलाई पनि पर्यटनको राजधानी घोषणा गरिने भएको छ । २०८० चैतमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको थियो । त्यसको करीब ८ महीनापछि चितवनलाई ‘वाइल्डलाइफ’ पर्यटनको राजधानीको रूपमा घोषणा गर्न लागिएको हो ।
विश्व सम्पदाको सूचीमा समेत सूचीकृत राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज जंगल सफारीका लागि चर्चित छ । सौराहामा हरेक वर्ष हात्ती महोत्सव हुँदै आएको छ । त्यसै महोत्सवको अवसरमा औपचारिक रूपमा ‘जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानी’ घोषणा गर्न लागिएको हो । क्षेत्रीय होटेल संघ, चितवनका अध्यक्ष गंगा गिरीले पोखराले पर्यटकको राजधानी घोषणा गरेपछि चितवनलाई पनि वाइल्ड लाइफ पर्यटनको राजधानी घोषणा गर्न लागिएको जानकारी दिए ।
‘चितवनलाई वाइल्डलाइफ पर्यटनको पहिचान दिन खोजिएको हो,’ गिरीले भने, ‘वन्यजन्तु, चराचुरुंगी, वनस्पति हेर्न चितवन जानुपर्छ भन्ने सन्देश दिन जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानी घोषणा गर्न लागेका हौं ।’ उनका अनुसार यस्तो राजधानी घोषणा गर्दा चितवनको प्रचारप्रसार सजिलो हुनुका साथै वाइल्डलाइफ थप प्रवर्द्धन गर्न सकिनेछ ।
चितवनमा पर्यटकीय स्तरका करीब २०० होटेल छन् भने थप पाँचतारे र अन्तरराष्ट्रिय चेन होटेल पनि आउने क्रम बढेको उनको भनाइ छ ।
संघका निवर्तमान अध्यक्ष दीपक भट्टराईले चितवन वन, वन्यजन्तु र त्यहाँको वनस्पति हेर्न आन्तरिक र बाह्य पर्यटक आउने भएकाले त्यसको प्रवर्द्धनका लागि पर्यटकीय राजधानी घोषणा गर्न लागिएको जानकारी दिए । संघका अनुसार चितवनमा आन्तरिक र बाह्य गरेर २ लाख ५० हजार पर्यटक आउने गर्छन् । यो संख्या बढ्दो रहेको र सडक पूर्वाधार राम्रो भएमा थप पर्यटक आउने भट्टराईले बताए ।
संघको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लि र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपालको सह–आयोजनामा पुस ११ गतेदेखि १५ गतेसम्म ‘१८ औं चितवन हात्तीतथा पर्यटन महोत्सव–२०८१’ हुने भएको छ । संघले मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो । यो महोत्सव २०५५ सालदेखि हुँदै आएको छ । हात्ती महोत्सव कोराना महामारीको प्रकोपका कारण तीन वर्ष रोकिएको थियो । महोत्सवका कारण हरेक वर्ष पर्यटकको आगमन २५ देखि ३० प्रतिशतले बढेको उल्लेख गरिएको छ । महोत्सवमा विभिन्न गतिविधि र निजी र सरकारी स्वामित्वमा रहेका ८० ओटा हात्ती सहभागी हुनेछन् ।
५ दिनसम्म सञ्चालन हुने महोत्सवमा जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानी घोषणा कार्यक्रम, हात्तीको शृंगार प्रतियोगिता, हात्ती वनभोज, हात्तीको फुटबल पेनाल्टी प्रतियोगिता, हात्ती म्युजिकल वाकलगायत दर्जनौं कार्यक्रम हुनेछन् ।