काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा मङ्सिर १६ देखि पुस ६ गतेसम्म हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) ले कीर्तिपुरको स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने सरोकारवालाले बताएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपालमै पहिलोपटक यति ठूलो खेल प्रतियोगिता गर्दा स्थानीय व्यवसायीले समेत लाभ पाउने उनीहरूको भनाइ छ ।
क्यानका सचिव पारस खड्काले उक्त प्रतियोगिता सम्पन्न गर्न करीब ६० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको आर्थिक अभियानलाई बताएका छन् । दर्शकले खेल हेर्न जाँदा मैदान वरिपरि खान तथा पिउनका लागि खर्च गर्ने हुँदा स्थानीय अर्थतन्त्रलाई सघाउ पुग्ने विश्वास गरिएको स्थानीय व्यापारीको भनाइ छ ।
विश्वभरि नै फ्रेन्चाइज क्रिकेटमा हुने रकमको वर्षाले व्यावसायिकताको दुनियाँमा नयाँ फड्को मार्दै आएको समयमा हुन लागेको यस प्रतियोगिताले क्यान, खेलाडी, स्थानीय व्यवसायी र समग्र मुलुककै अर्थतन्त्रमा अर्थ राख्ने विश्वास लिइएको क्यानका प्रवक्ता चुम्बी लामाले बताए ।
लामाका अनुसार यस प्रतियोगिताले मुख्यगरी कीर्तिपुरको स्थानीय व्यापार व्यवसाय, स्थानीय नेवा संस्कृति र त्यहाँको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने सक्ने अनुमान गरिएको छ ।
- स्थानीय व्यापार व्यवसाय, नेवा संस्कृति र पर्यटन प्रवर्द्धनमा महङ्खवपूर्ण योगदान पुग्ने
- विश्वभर कीर्तिपुरको कला, संस्कृति प्रकाशमा आउने
- स्थानीय सार्वजनिक यातायात व्यवसायीका लागि अवसर
- त्रिविभित्रका क्यान्टिनदेखि फुटपाथ व्यापारीसम्मका लागि कमाउने अवसर
‘त्रिवि मैदान कीर्तिपुरको मुख्य बस्तीभन्दा टाढा भए पनि ३ साता चल्ने खेल प्रतियोगिता हेर्न हजारौं दर्शक उपस्थित हुनेछन् । विदेशी प्रसारण च्यानलमार्फत प्रतियोगिता देखाइने हुँदा पहिलो कुरा त मुख्य रूपमा विश्वभर कीर्तिपुरको चर्चा चुलिने कुरामा दुईमत छैन,’ उनले भने, ‘मैदानबाहिर नाङ्लो र ठेलामा चाउचाउ बिस्कुट र पानी बेच्नेदेखि त्यहाँका अन्य स्थानीय व्यापारीको व्यापार बढ्न सक्छ । खेल सकिएपछि दर्शकले कीर्तिपुरका पर्यटकीयस्थल भ्रमण गर्न सक्छन् । उक्त क्रममा स्थानीय होटेल तथा रेस्टुराँको पनि व्यापारमा टेवा पुग्ने देखिन्छ ।’
उक्त प्रतियोगितामा सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, कर्णाली याक्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, विराटनगर किंग्स, काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्ससहित आठओटा टिम भिड्नेछन् । क्यानका अनुसार एउटा टोलीले लिगका सातओटा खेल तथा प्लेअफ हुँदै फाइनल खेलमा १० खेल खेल्नुपर्ने भएकाले एउटा खेल खेल्दा करीब १ करोड ३० लाख रुपैयाँसम्म खर्च हुन सक्ने अनुमान गरिएको छ ।
कीर्तिपुर नगरपालिका, वडा नम्बर ३ का अध्यक्ष सुविन्द्र महर्जन भने नेपाली क्रिकेट इतिहासकै ठूलो प्रतियोगिता कीर्तिपुरमा हुन लाग्दा पनि त्यसले आर्थिक तथा व्यावसायिक रूपमा स्थानीयले धेरै ठूलो फाइदा तत्काल लिन नसक्ने बताउँछन् ।
‘हजारौं दर्शकको उपस्थिति रहने हुँदा स्थानीय व्यापारीले आर्थिक लाभ त पक्कै लिन्छन् नै, तर त्रिवि मैदानदेखि बस्तीसम्मको दूरीका कारण स्थानीयले व्यापारिक रूपमा जति लाभ लिन सक्थे त्यति लिन सक्दैनन् । तथापि यहाँको नेवा संस्कृति, स्थानीय पर्यटकीय क्षेत्रसँगै संसारभर कीर्तिपुरको नाम चर्चामा आउने भएकाले हाम्रा लागि यो प्रतियोगिता महत्त्वपूर्ण छ,’ उनले भने ।
खुद्रा तथा फुटपाथ व्यापारीका लागि भने एनपीएल अवसर हुन सक्ने स्थानीय व्यापारी बताउँछन् । त्रिविभित्रै रहेका क्यान्टिन व्यवसायीको व्यापार ३ सातासम्म भए पनि बढ्ने देखिएको स्थानीय खुद्रा व्यापारी नवीन महर्जनले बताए । उनका अनुसार फुटपाथमा व्यापार गर्नेका लागि त्यसबेला खेलमैदान वरपरको क्षेत्र उपयुक्त अवसर बन्न सक्नेछ । भाडाको घरमा रेस्टुराँ सञ्चालन गरिरहेकाहरूले रेस्टुराँ सेवा मैदान वरिपरि लैजान सक्छन् । किराना पसलेले आफ्नो सामान मैदान वरिपरि लगेर बेच्न सक्नेछन् । यसलाई रोक्ने निर्णय नभएको लामाले बताए ।
त्रिवि मैदान वरपर र नजिकै त्रिविको क्यान्टिनबाहेक अन्य खाजा पसल नभएका कारण प्रतियोगिता अवधिभर फुटपाथमा व्यापार गर्नेहरूले लाभ लिन सक्ने उनको भनाइ छ । अहिले विभिन्न देशका क्रिकेट बोर्डले टी–२० पे्रmन्चाइज लिग आयोजना गर्दै आएका छन् । यस्ता फ्रेन्चाइज लिगबाट बोर्डले कमाइ गर्नुका साथै खेलाडी पनि व्यावसायिक बन्ने गरेका छन् । छिमेकी मुलुक भारतको भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले पनि संसारकै महँगो टी–२० फ्रेन्चाइज लिग इन्डियन प्रिमियर लिग (आईपीएल) आयोजना गर्दै आएको छ ।
पछिल्लो समय दक्षिण एशियामा बंगलादेश, श्रीलंका, पाकिस्तान, अफगानिस्तानका क्रिकेट बोर्डले आफ्नै स्वामित्वमा प्रत्येक वर्ष टी–२० फ्रेन्चाइज लिग आयोजना गरिरहेका छन् । नेपालमा भने यस्तो ठूलो टी–२० फ्रेन्चाइज लिग पहिलोपटक हुन लागेको हो । यसअघि एभरेस्ट प्रिमियर लिग (ईपीएल), धनगढी प्रिमियर लिग (डीपीएल) र पोखरा प्रिमियर लिग (पीपीएल) हुने गरे पनि लगानी र व्यावसायिकताको हिसाबले एनपीएल नेपालमा अहिलेसम्मकै ठूलो प्रतियोगिता हो ।
स्थानीय सार्वजनिक यातायात व्यवसायीका लागि अवसर
कीर्तिपुरबाट विभिन्न रुटमा सार्वजनिक यातायात सञ्चालन गर्दै आएका व्यवसायीले भने एनपीएललाई आर्थिक लाभको एउटा मुख्य अवसरका रूपमा हेरेका छन् ।
बाघभैरब यातायात प्रालिका अध्यक्ष कृष्ण कोजुले एनपीएललाई कीर्तिपुर रुटमा चल्ने यातायात धनीहरूले महत्त्वपूर्ण अवसरका रूपमा लिएको बताए । यसअघि पनि त्रिवि मैदानमा खेल हुँदा बस/माइक्रो बसमा यात्रुको चाप बढ्ने गरेको अवस्थालाई दृष्टिगत गर्दै प्रालिले खेल अवधिभर बस छुट्ने समय छोट्याउने तयारी गरेको कोजुले बताए ।
‘सामान्य अवस्थामा कीर्तिपुरबाट एक मिनेटको अवधिमा ३ ओटा माइक्रो छुट्ने गर्छन् । प्रतियोगिता अवधिभर प्रालिले आवश्यकताअनुसार १ मिनेटमा ६ देखि ८ ओटासम्म माइक्रो छुटाउने योजना बनाएको छ,’ उनले भने । कीर्तिपुरमा दुईओटा समिति सञ्चालनमा छन् । त्यसमार्फत दैनिक १५० ओटा बस कीर्तिपुर रत्नपार्क र कीर्तिपुर लगनखेल रुटमा गुड्ने गर्छन् ।