काठमाडौं । एक जलविद्युत् कम्पनीसहित पाँच कम्पनीले एफपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका छन् ।
बुटवल पावर कम्पनी, नेशनल लघुवित्त वित्तीय संस्था, विजय लघुवित्त वित्तीय संस्था, विन नेपाल लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन् । यीमध्ये बुटवल पावर कम्पनीले १ सय ६ रुपैयाँ ३ पैसा प्रिमियम मूल्य थप गरी प्रतिकित्ता २०६ रुपैयाँ ३ पैसामा एफपीओ निष्कासन गर्न लागेको छ भने बाँकी तीन कम्पनीले अंकित मूल्यमै एफपीओ जारी गर्न लागेका हुन् ।
बुटवल पावर कम्पनीले १ करोड कित्ता एफपीओ निष्कासन गर्दैछ । एफपीओ निष्कासनका लागि कम्पनीको विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । यसअघि २०७४ माघमा कम्पनीले प्रतिकित्ता ४०१ रुपैयाँ प्रिमियम थप गर्दै ५०१ रुपैयाँका दरले ४० लाख ८१ हजार कित्ता एफपीओ जारी गरेको थियो ।
त्यस्तै नेशनल लघुवित्तले ६ लाख ६९ हजार ९ सय कित्ता एफपीओ निष्कासन गर्दैछ । यस कम्पनीको विक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । त्यसैगरी विजय लघुवित्तले ४ लाख ६६ हजार ८१७ कित्ता, विन नेपाल लघुवित्तले ५१ हजार २९३ कित्ता र स्वरोजगार लघुवित्तले १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गर्दैछन् । यसका लागि स्वरोजगार र विजय लघुवित्तले एनएमबि क्यापिटललाई विक्री प्रबन्धक तोकेका छन् भने विन नेपाल लघुवित्तले को विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई विक्री प्रबन्धकको जिम्मेवारी दिएको छ ।
के हो एफपीओ निष्कासन ?
कुनै कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गरेपछि पूँजी बढाउन थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्छन् । कतिपय कम्पनीहरूले भने शेयर संरचना मिलाउनका लागि पनि एफपीओ निष्कासन गर्ने गरेको पाइन्छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार कम्पनीको कुल चुक्तापूँजीको ७० प्रतिशत शेयर संस्थापकतर्फ र ३० प्रतिशत शेयर सर्वसाधारणतर्फ हुनुपर्ने प्रावधान छ ।
जोसुकै कम्पनीले एफपीओ निष्कासन गर्न पाउँदैनन् । यसका लागि केही शर्त तोकिएका छन् । नेपाल धितोपत्र बोर्डको प्रावधान अनुसार एफपीओ निष्कासन गर्नका लागि कम्पनीले लगातार तीन वर्ष नाफा गरेको, कारोबार शुरु गरेको पाँच वर्ष पूरा भएको, औसतमा क्रेडिट रेटिङ राम्रो पाएको हुनुपर्छ ।
कम्पनीले एफपीओ निष्कासन गर्दा अंकित मूल्य वा अंकित मूल्यमा प्रिमियम थप गरी निष्कासन गर्ने गरेका छन् ।