काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १७ दशमलव ०४ अंक घटेर बन्द भएको छ । गत साताको अन्तिम कारोबार दिन पनि नेप्से परिसूचक घटेको थियो । आइतवार नेप्से परिसूचक २ हजार ९५ दशमलव २५ विन्दुमा झरेको हो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन रू. ६ अर्बभन्दा बढीको कारोबार भएकोमा आइतवार रू. ५ अर्ब ४७ करोडमा झरेको छ ।
ब्याजदर निरन्तर घट्दा पनि शेयर बजारले सकारात्मक लय समात्न नसकेको देखियो । बैंकहरूले ब्याजदर घटाउने निर्णय गरेकाले आइतवार बजारमा पनि नयाँ उत्साह देखिने आम लगानीकर्ताको अपेक्षा थियो । तर, नेप्सेले सकारात्मक सन्देश दिन सकेन । अल्पकालीन कारोबारी हावी हुँदा सूचक प्रभावित भएको लगानीकर्ता बताउँछन् ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ८६ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ८३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ प्रतिशत घटेको छ । आइतवार ३१७ धितोपत्रको १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता शेयर ७१ हजार ९९७ पटकमा रू. ५ अर्ब ४७ करोड बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका धितोपत्रमध्ये नेपाल फाइनान्स कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोवार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६६१ दशमलव १० पुगेको छ । शेयर मूल्य सर्वाधिक बढ्ने सूचीमा दोस्रोमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ०९ प्रतिशत बढेर रू. १ हजार ८ सय पुगेको हो ।
भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार १७ दशमलव ९० कायम भएको छ । शेयर मूल्य सर्वाधिक घट्ने सूचीमा दोस्रोमा समृद्धि फाइनान्स छ । कम्पनीको शेयर मूल्य ६ दशमलव ११ प्रतिशत घटेर रू. ४०९ मा झरेको छ ।
शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा नेपाल फाइनान्सले ओगटेको छ । यस कम्पनीको रू. ३० करोड ४ लाख बराबरको कारोबार भएको हो । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको रू. १८ करोड १९८ लाख बरावरको भएको हो ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये होटल तथा पर्यटन समूहको सूचक शून्य दशमलव ०४ प्रतिशत वृद्धि भएको छ भने बाँकी सबै समूहको सूचक घटेको हो । सबैभन्दा बढी लघुवित्त समूहको सूचक १ दशलमव ७१ प्रतिशत घटेको छ ।