काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार (आज) नेप्से परिसूचक २ दशमलव ५४ प्रतिशत बढेर २ हजार ४८५ दशमलव ९४ विन्दुमा पुगेको छ । आजसँगै नेप्से लगातार चार कारोबार दिन बढेको हो । चार कारोबार दिनमा नेप्से २४५ दशमलव ५१ अंक अर्थात् १० दशलमव ५२ प्रतिशत वृद्धि भएको छ ।
नयाँ सरकार पूँजी बजारको विकासप्रति प्रतिबद्ध देखिँदा लगानीकर्ता थप उत्साहित बनेका छन् । पूँजी बजार सुधारका लागि प्रधानमन्त्री केपी शर्मा ओली नै प्रतिबद्ध देखिनुभएको छ । प्रतिनिधिसभा बैठकमा आइतवार विश्वासको मत लिने कार्यक्रममा प्रधानमन्त्री ओलीले नयाँ सरकार बनेपछि शेयर बजारमा उत्साह आएको बताउनुभयो । वर्तमान सरकारप्रतिको विश्वासकै कारण शेयर बजारमा उत्साह छाएको उहाँको दाबी छ ।
बजार बढ्न थालेपछि खरीदकर्ता–विक्रेताको संख्या बढेकाले कारोबार रकम सजिलै १५ अर्ब माथि पुगेको देखिन्छ । ब्रोकर संख्या पनि थपिएकाले बजारमा नयाँ लगानीकर्ता भित्रिएको अनुमान गरिएको छ ।
नयाँ सरकारको अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त हुनु, ब्याजदर थप घट्नु लगायत कारणले शेयर बजारमा सकारात्मक प्रभाव परेको लगानीकर्ता बताउँछन् ।
यस दिन सेन्सेटिभ इन्डेक्स ३ दशलमव १० प्रतिशत, फ्लोट इन्डेक्स २ दशमलव ६० प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव ९९ प्रतिशत वृद्धि भएको छ । आज ३१५ धितोपत्रको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता शेयर १ लाख ७७ हजार ४६७ पटकमा रू. १५ अर्ब २३ करोड बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका धितोपत्रमध्ये दुई धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । युनाइटेड मोदी हाइड्रोपावर र समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । युनाइटेड मोदीको शेयर मूल्य प्रतिकित्ता रू. २९७ र समता घरेलुको रू. १ हजार ११६ दशमलव ५० पुगेको छ । त्यस्तै हिमालयन बैंकको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत बढेर रू.२४८ दशमलव ९० पुगेको छ ।
आइतवार सबैभन्दा बढी सिक्लेस हाइड्रोपावरका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८७४ दशमलव ८० मा झरेको छ ।
त्यस्तै, १० दशलमव २५ प्रतिशत नेपाल एसबिआई बैंक डिबेञ्चर २०८३ नामक ऋणपत्रको मूल्य ६ दशमलव ८४ प्रतिशत घटेर रू. १ हजार २१ मा कायम भएको छ ।
यस दिन शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा सोल्टी होटलले ओगटेको छ । यस कम्पनीको रू. ३४ करोड १० बराबरको कारोबार भएको छ । शेयर मूल्य प्रतिकित्ता रू. ५१२ पुगेको छ ।
शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा हिमालयन रिइन्स्योरेन्स कम्पनी छ । कम्पनीको रू. ३० करोड ६७ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।
आज कारोबारमा आएका १३ ओटै समूहगत सूचक बढेका छन् । तीमध्ये व्यापार समूहको सूचक सबैभन्दा बढी ६ दशमलव ८० प्रतिशत वृद्धि भएको छ । त्यस्तै होटल तथा पर्यटन समूहको सूचक ४ दशलमव २१ प्रतिशत र बैंकिङ्ग समूहको सूचक ३ दशलमव ८६ प्रतिशत वृद्धि भएको छ ।