काठमाडौं। मध्यभदौमा भएको नाडा अटो शोमा अधिकांश विद्युतीय गाडी (ईभी) बुकिङ भएपछि असोजमा यसको आयात ह्वात्तै बढ्ने अपेक्षा थियो । तर, भदौको तुलनामा असोजमा आयात घटेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
असोज दोस्रो साता आएको भीषण बाढीपहिरोका कारण चीनसँगको रसुवागढी र तातोपानी नाकाबाट दुईपक्षीय व्यापार लगभग पूर्ण अवरुद्ध भयो । फलस्वरूप चीनबाट आउनुपर्ने विद्युतीय गाडी ल्याउन नसकेर आयातमा कमी आएको भन्सार अधिकारीले बताएका छन् । नेपाल आउने विद्युतीय चारपांग्रेमा चीनबाट आउने धेरै हुन्छन् ।
चालू वर्षको असोज मसान्तसम्म २ हजार ५१८ ओटा विद्युतीय चारपांग्रे भित्रिएकोमा चीनबाट १ हजार ७६५ ओटा आएको देखिन्छ । भदौको तुलनामा असोजमा समग्र विद्युतीय चारपांग्रे आयातमा कमी आउनुमा पनि चीनबाट आउनेको संख्या घट्नुको हो ।
भन्सार अधिकारीहरूले बाढीपहिरोले बाटो अवरुद्ध भएपछि बुकिङ भएका करीब ८०० विद्युतीय चारपांग्रे गाडी चीनबाट आउन नसकेको बताए । त्यसैले भदौको तुलनामा असोजमा कम गाडी भित्रिएका हुन् । गत भदौमा १ हजार २२१ विद्युतीय चारपांग्रे आयात भएकोमा असोजमा ९१६ ओटा मात्र आयात भएको छ ।
चीनतर्फ बाटो बाढीले बगाएका कारण रसुवागढी नाका पूर्णरूपमा बन्द छ । तातोपानी नाकातर्फ सुनकोशी नदी र लिपिङ खोलामा तुइन लगाएर केही कुहिने खाद्यपदार्थ ल्याइएको भन्सार अधिकारीहरूको भनाइ छ । गत आर्थिक वर्षमा ११ हजार ७०१ विद्युतीय चारपांग्रे आयात भएकोमा चीनबाट ८ हजार ६५ ओटा आएका छन् ।