काठमाडौं : चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो त्रैमासमा वैदेशिक व्यापारमा गिरावट देखिएको छ । बाढीपहिरो, अर्थतन्त्रमा मन्दीजस्ता कारणले वैदेशिक व्यापारमा असर देखिएको हो । भन्सार विभागले सार्वजनिक गरेको असोजसम्मको तथ्यांकअनुसार चालू आवको ३ महीनामा ३ खर्ब ९० अर्ब रुपैयाँको वस्तु आयात भएको छ । गत आवको तुलनामा चालू आवको ३ महीनामा आयात ४ दशमलव १७ प्रतिशतले घटेको हो ।
गत आवको ३ महीनाको तुलनामा चालू आवको सोही अवधिमा निर्यात ६ दशमलव ११ प्रतिशतले घटेको विभागको तथ्यांक छ । चालू आवको साउन, भदौ र असोजमा ३८ अर्ब ३७ करोड रुपैयाँको मात्रै वस्तु निर्यात भएको विभागले बताएको छ । जब कि गत आवको पहिलो ३ महीनामा ४० अर्ब ८७ करोड ४८ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । गत आवको पहिलो ३ महीनामा ३ खर्ब ६६ अर्ब ८८ करोड रुपैयाँ व्यापारघाटा रहेकामा चालू आवको सोही अवधिमा ३ खर्ब ५२ अर्ब ३७ करोड रुपैयाँ कायम भएको छ ।
पहिलो त्रैमासमा ५२ अर्ब ८४ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । निर्याततर्फ सबैभन्दा बढी नेपाली गलैंचाजन्य सामान १ अर्ब ८३ करोड ६२ लाख ७३ हजार रुपैयाँ बराबरको निकासी भएको देखिन्छ । भन्सारको तथ्यांकअनुसार उत्तरी नाका तातोपानीबाट भदौसम्म वस्तु आयात ८ अर्ब ९४ करोड थियो । असोजमा आइपुग्दा ३ अर्ब ४१ करोडले बढेर त्यस्तो आयात १२ अर्ब ३५ करोड पुगेको देखिन्छ । त्यस्तै, रसुवागढीबाट भदौसम्ममा ११ अर्ब ५४ करोडको वस्तु आयात भएकोमा ४ अर्ब ५७ करोडले बढेर असोजसम्म १६ अर्ब १० करोड पुगेको छ ।
भन्सार विभागका अधिकारीहरू बाढीपहिरोदेखि बाह्य कारण वैदेशिक व्यापारमा उत्साह नआएको बताउँछन् । खासगरी चीनतर्फका धेरै सामान बाटोमा रोकिए, जुन चाडबाडलाई लक्ष्य गरी मगाइएको थियो । यसको असर आयात तथ्यांकमा केही हदसम्म देखिएको भन्सार विभागका एक उच्च अधिकारीले बताए । ‘अहिले पनि समानहरू रोकिइरहेका छन्,’ उनले भने, ‘यसले भन्सार राजस्वमा आवको अन्तिमसम्म ठूलो धक्का पुर्याउनेछ ।’ तातोपानीका भन्सार अधिकृत सूर्यप्रसाद काफ्ले सडक प्रभावित भएका कारण चीनबाट आयातको काम असोजदेखि ठप्पै भएको बताउँछन् । उनका अनुसार नेपालतर्फ बाढीपहिरोले सडक बिगारेको छ । बुकिङ भएका दशैंतिहार लक्षित सामग्री उतै रोकिरहेका छन् । चाडबाडको मुखमा आयातमा उत्साह नदेखिएको वाणिज्यविद् पुरुषोत्तम ओझा बताउँछन् । उनका अनुसार मुलुकभित्र आन्तरिक माग कम छ । उपभोक्ता विदेशिने क्रम तीव्र रहेकाले पनि माग घटिरहेको उनी बताउँछन् ।