काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्म रू. १ करोड ७३ लाखभन्दा बढी नाफा कमाएको छ । गत आवको तेस्रो त्रैमाससम्म भने कम्पनी रू. १ करोड ९२ लाखभन्दा बढी नोक्सानीमा थियो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएसँगै नाफामा सुधार आएको हो ।
गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी १८ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. ८ करोड ६० लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा बढेर रू. १० करोड १९ लाख पुगेको हो ।
गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ३ दशमलव ८२ ऋणात्मक रहेकोमा चालू आवमा रू. ३ दशमलव ४५ धनात्मक रहेको छ । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात ९४ दशमलव ५६ गुणा, तरलता अनुपात ३३ दशमलव ७२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ११८ दशमलव २० रहेको छ ।
चुक्ता पूँजी रू. ५० करोड २८ लाख रहेको कम्पनीले जगेडामा रू. ६ करोड ८७ लाख, रिटेन्ड अर्निङमा रू. २ करोड २३ लाख र शेयर प्रिमियममा रू. ४ लाख ५८ हजार सञ्चित गरेको छ ।