काठमाडौं । आरजु राइसमिलले चैते-५ धान खरिद गर्न शुरू गरेको जनाएको छ । बर्सेनी धान चामल आयात भइरहेको तथा किसानले उचित मूल्य र बजार नपाएको अवस्थामा किसानलाई राहत हुने गरि धान खरिद प्रकृया अगाडि बढाइएको जनाइएको छ ।
पूर्वी नेपाल मोरङ, झापाका किसानले उत्पादन गरेको धान विक्री नहुँदा एक साताभित्रै धानको मूल्य प्रतिमन ३०० रुपैयाँले घटेको बताएको छ । स्थानीय व्यापारीहरु धानको मूल्य निकै तल झार्न धान खरिद ठप्प पारेको भन्दै मिलले उनीहरुको दाउ धानको मूल्य कम गरि ठूलो आम्दानी हात पार्नु रहेको भएपनि आफूले भने उचित मूल्य दिएर धान खरिद गर्न लागेको बताएको छ ।
चैते धानमा चिस्यान बढि हुने र वर्षात् र मौसमका कारण भण्डारण गर्न नमिल्ने हुँदा किसानलाई भणडारणमा समस्या हुँदै आएको छ । मिलले ६ हजार टन धान खरिद गर्ने भएको छ । भने न्यूनतम् समर्थन मूल्य रु. २ हजार ५०० प्रति क्विन्टल रहेको जनाएको छ ।
मिलले यसअघि दिंदै आएको मूल्यमा रु. १०० थप गरी प्रति मन रु. १ हजारका दरले धान खरिद गरिरहेको जनाएको छ । राईस मिलका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले सदैव किसानका पक्षमा रहेको भन्दै किसानलाई निर्वाहमूखीबाट व्यवसायीकरणतर्फ डोर्याउन प्रतिबद्ध रहेको बताएको मिलले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।